काठमाडौं । प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्न १५ सदस्यीय मस्यौदा समिति गठन गरिएको छ ।
प्रतिनिधिसभाको आज बसेको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कवीन्द्र बुर्लाकोटीले प्रस्तुत गरेका थिए ।
सो प्रस्तावको सीता थपलिया, गणेशसिंह ठगुन्ना, युवराज दुलाल, धुवराज राई, भरत गिरी, पुष्पाकुमारी चौधरीले समर्थन गरेका थिए।
प्रस्तावबमोजिम रास्वपाका सांसद गणेश पराजुली सभापतिसहित सबै दलका सदस्यहरू रहने गरी सर्वसम्मतिले समिति गठन गरिएको हो ।
समितिमा डा ओजस्वी शेरचन, ऐनबहादुर महर, खगेन्द्र सुनार, खुश्बु ओली, गजाला समिम मिकरानी, तपेश्वर यादव, ध्रुवराज राई, निशा डाँगी, निष्कल राई, बलावती शर्मा, मधु चौलागाईं यज्ञमणि न्यौपाने, रेखाकुमारी यादव, डा। सुलभ खरेल रहेका छन् ।
समितिले सभामुखको सामान्य निर्देशनमा रही आफ्नो कार्यविधि आफै तय गर्नेछ भने समितिलाई कार्यप्रारम्भ भएको मितिले १४ दिन कार्यअवधि दिइएको छ ।
नयाँ नियमावली निर्माण नहुन्जेल २०७९ को नियमावलीअन्तर्गत सभाको कार्यसञ्चालन भइरहेको छ ।