काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद खगेन्द्र सुनारले संसद बैठकमा पहिलो पटक बोल्दा नै झूटो तथ्य प्रस्तुत गरेको आरोप लागेको छ ।
कांग्रेसका समानुपातिक सांसद कालीबहादुर सहकारीले आजको संसद बैठकमा सुनारले झूट तथ्य प्रस्तुत गरेको भन्दै उनको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका छन् ।
सुनारले हिजोको सांसद बैठकमा बोल्ने क्रममा देशका विभिन्न भागमा दलितहरूमाथि भएका विभेदका घटनाको फेहरिस्त प्रस्तुत गरेका थिए । त्यसक्रममा उनले कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नम्बर ५ मा मना सार्की नामका जनप्रतिनिधिले धारा छोएको निहुँमा हत्या गरिएको दाबी गरेका थिए ।
तर, सहकारीले उनको दाबी असत्य भएको सदनलाई जानकारी गराए । सहकारी भने–‘यो सदनमा जे पनि बोल्न छुट हो कि यथार्थ कुरा बोल्ने हो, म साह्रै आश्चर्यचकित छु । नरहरिनाथ–५ मेरै जन्मस्थानको वडा हो । त्यहाँ सहकारी र बोगटीको ९५ प्रतिशत र बाँकी ५ प्रतिशत अन्य क्षेत्री जातिकै मानिसहरू छन् । दलितको उपस्थिति शून्य छ । उहाँले यो कुरा कसरी सदनमा ल्याउनुभयो, यसमा मेरो घोर आपत्ति छ ।’
सहकारीले सुनारको अभिव्यक्ति सदनको रेकर्डबाट हटाउन माग गरे । तर सभामुख डीपी अर्यालले त्यतितिर ध्यानै दिएनन् ।
यसैबीच, रास्वपा सांसद सुनारले आफूले बोलेको कुरामा विवाद आएपछि वैठकमै स्पष्टीकरण दिए । उनले वडा नम्बर ५ मा नभएर ९ नम्बरमा घटना भएको बताए ।
आफूले बोल्दा वडा नम्बर फरक पर्न गएको भन्दै उनले माफीसमेत मागे ।
उनले भने–‘२०७५ जेठको १९ गते कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नम्बर ९ मा महिला जनप्रतिनिधि मना सार्कीको हत्या भएको सत्य हो । यो वडा तलमाथि पर्न गएकोमा म क्षमाप्रार्थी छु । तर, सो ठाउँबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिज्यूले एक जना जनप्रतिनिधिको हत्या भएको विषयलाई हत्या नै नभएको जसरी संसदको रेकर्डबाट हटाउन भन्नुभएको छ । यसप्रति गम्भीर ध्यानाकर्षण भएको छ । एउटा दलित महिला सदस्यको जुन ढंगबाट हत्या भएको छ । यो कुरालाई यति सजिलै रुपमा लिइनु हुँदैन ।’