काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले लगातार दुईवटा महत्वपूर्ण शृंखला घरेलु मैदानमै खेल्ने तालिका सार्वजनिक गरेको छ ।
क्यानले मंगलबार विज्ञप्ति जारी गर्दै अप्रिल २५ देखि मे २२ सम्म नेपालमा अन्तर्राष्ट्रिय क्रिकेटको रोमाञ्चक माहोल बन्ने जानकारी दिएको हो ।
पहिलो शृंखला अप्रिल २५ देखि मे ५ सम्म सञ्चालन हुनेछ, जसमा नेपालसँगै ओमान राष्ट्रिय क्रिकेट टोली र युएई राष्ट्रिय क्रिकेट टोली सहभागी हुनेछन्। यसअघि पूर्व एसियामा देखिएको संकटका कारण स्थगित भएको यो शृंखला अब काठमाडौंमा आयोजना हुन लागेको हो ।
पहिलो चरण सकिएलगत्तै नेपालले दोस्रो शृंखलामा स्कटल्यान्ड राष्ट्रिय क्रिकेट टोली र अमेरिका राष्ट्रिय क्रिकेट टोली सँग प्रतिस्पर्धा गर्नेछ। दोस्रो शृंखला मे १२ देखि २२ सम्म सञ्चालन हुनेछ।
८ टोली सहभागी लिग–२ प्रतियोगितामा नेपाल हाल २० खेलबाट १२ अंक जोड्दै अंकतालिकाको सातौं स्थानमा छ।