काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीले क्रियाशील सदस्यता खारेज नभइ अद्यावधिक गर्न लागेको प्रष्ट पारेका छन् ।
महामन्त्री पौडेलले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत सदस्यता अद्यावधिकबारे प्रष्ट पारेका हुन् ।
'नेपाली कांग्रेसले यसअघिको क्रियाशील सदस्यता खारेज गर्न लागेको हो ? भनेर धेरैले मलाई प्रश्न गर्नुभएको सन्दर्भमा यो लेख्दैछु ‘हामीले क्रियाशील खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं । विद्यमान परिस्कृत प्रणालीबाट अद्यावधिक गर्दा हामीले क्रियाशीलमा यसअघि भोग्दै आएका समस्या र अन्योल हटाउन सकिन्छ,' महामन्त्री पौडेलले लेखेका छन् ।
उनले विगतमा देखिएका त्रुटि हटाउन प्राविधिक पक्षमा विशेष ध्यान दिएर अद्यावधिक प्रक्रिया अघि बढाउँन लागेको बताए
अद्यावधिक हुने क्रियाशीलले नेपाली कांग्रेसलाई थप जिम्मेवार र मजबुत बनाउने उनको भनाइ छ ।
साथै महामन्त्री पौडेलले मंगलबारबाट कांग्रेसका सम्पूर्ण क्रियाशील सदस्यहरूलाई सदस्यता अद्यावधिक गर्न र कांग्रेसमा आस्था राख्नेहरूलाई क्रियाशील सदस्यता लिन अपिल गरेका छन् ।