काठमाडौं । प्रभु बैंकमा भएको संस्थागत अनियमितताको अनुसन्धान लम्बिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गत असोजदेखि नै अनुसन्धान गर्दै आएको भएपनि हालसम्म मुद्दा दायर गरेको छैन ।
सो प्रकरणमा बैंकका कतिपय कर्मचारी अझै फरार छन्। बैंकको ठूलो घोटालामा मुछिएकी चिफ बिजनेस अफिसर (सीबीओ) रश्मी पन्त अझै फरार छिन्। अहिलेसम्म उनलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । बैंकले भने वेभसाइटबाट उनको नाम हटाएको छ।
पन्तको ठाउँमा अर्का बिबादास्पद कर्मचारी रमेश श्रेष्ठले काम गरिरहेको बताइएको छ। श्रेष्ठ पनि तत्कालिन सेन्चुरी बैंकको घोटालामा मुछिएका थिए। श्रेष्ठले भने शक्तिकेन्द्रमा धाउनेदेखि बैंकमा गुटबन्दी गर्न थालिसकेको स्रोत बताउँछ।
बैंकको अर्बौं रकम हिनामिनाको आरोपमा तत्कालीन प्रमुख कार्यकारी निर्देशक (सीइओ) अशोक शेरचनसहित मणिराम पोखरेल, रिवाज श्रेष्ठ लगायतलाई गत १४ मंसिरमा पक्राउ गरी अनुसन्धान थालेको थियो। पछि उनीहरुलाई सरकारी वकिलले हाजिरी जमानीमा छाडियो।
चुनावको बेला सुस्ताएको अनुसन्धान चुनावपछि फेरि अघि बढेको छ । चैत ३ गते दिनेश डंगोललाई सीआइबीले पक्राउ गरेको थियो। उनी पनि हाजिरी जमानीमा छुटिसकेका छन्।
अन्य केही व्यक्ति फरार रहेकाले अनुसन्धान नटुंगिएको सीआईबीका अधिकारी बताउँछन् ।
बैंकको अर्बौं रकम प्रभु ग्रुपले बिना ब्याज चलाएकोदेखि कर्जामा हिनामिना गरेको विषयमा सीआईबीले अनुसन्धान गरिरहेको छ। जसमा बैंकका पूर्वअध्यक्ष देवीप्रकाश भट्टचन पनि तानिएका छन्। भट्टचनविरुद्ध भने प्रभु रेमिटका नाममा ठगी गरेको अभियोगमा मुद्दा दायर भइसकेको छ।