Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी आह्वान, जेठ ५ मा उजुरी खोलिने

प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी आह्वान, जेठ ५ मा उजुरी खोलिने

शुक्रवार , बैशाख २५, २०८३

काठमाडौं । संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशमा सिफारिस भएका मनोज कुमार शर्माको संसदीय सुनुवाइ प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ।

संसदीय सुनुवाइ समितिको शुक्रबार बसेको बैठकले शर्माविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गर्दै १० दिनको समय दिएको हो। समितिले शनिबारदेखि जेठ ४ गतेसम्म उजुरी दर्ता गर्न सकिने जनाएको छ।

समितिका सभापति बोधनारायण श्रेष्ठका अनुसार संवैधानिक परिषद्ले बिहीबार नै सिफारिस सम्बन्धी पत्र पठाएपछि समितिले शुक्रबारदेखि प्रक्रिया सुरु गरेको हो।

समितिले उजुरी दर्ताका लागि बहुविकल्पीय व्यवस्था गरेको छ। समितिका अनुसार नागरिकले प्रत्यक्ष रूपमा संसदीय सुनुवाइ समितिको सचिवालयमा पुगेर, हुलाकमार्फत, इमेलमार्फत वा समितिका सदस्यलाई सिलबन्दी खाममा बुझाएर उजुरी दिन सक्नेछन्।

यसबाहेक देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत पनि उजुरी दर्ता गर्न सकिने व्यवस्था गरिएको छ। उजुरी दिँदा आरोप वा विषयवस्तुको आधार, प्रमाण र कारण स्पष्ट रूपमा खुलाउनुपर्ने समितिले जनाएको छ।

सभापति श्रेष्ठका अनुसार जेठ ५ गते बस्ने समितिको बैठकले प्राप्त सबै उजुरी समितिका सदस्यहरूको रोहबरमा खोलेर अध्ययनका लागि वितरण गर्नेछ।

उजुरीको संख्या र प्रकृतिअनुसार अध्ययनको समय निर्धारण हुने बताइएको छ। त्यसपछि समितिले सुनुवाइको मिति तय गर्नेछ।

संवैधानिक परिषद्ले बिहीबार बसेको बैठकबाट शर्मालाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077