कपिलवस्तु। कपिलवस्तुमा अस्पतालको ३८ लाखभन्दा बढी रकम हिनामिना प्रकरणमा अस्पताल र बैंकसँग सम्बन्धित पाँच जना पक्राउ परेका छन् ।
जिल्लाको शिवराज नगरपालिकाअन्तर्गत सञ्चालित आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटाको नक्कली भौचरमार्फत ३८ लाखभन्दा बढी रकम अपचलन गरिएको आरोपमा प्रहरीले डाक्टरदेखि बैंकका कर्मचारीसम्मलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा शिवराज नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख चुडामणि भट्टराई, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अमित पाण्डे, नेपाल बैंक लिमिटेड चन्द्रौटा शाखाका क्यासियर कमलप्रसाद भण्डारी, अस्पतालकी फार्मेसी सहायक कर्मचारी रूक्सना खातुन तथा नेपाल बैंककै कर्मचारी विक्रम के।सी। रहेका छन् ।
प्रहरीका अनुसार अस्पतालको सेवा शुल्क र फार्मेसीबाट औषधि बिक्रीबापत संकलन भएको रकम नेपाल बैंक लिमिटेडको चन्द्रौटा शाखामा जम्मा गर्ने क्रममा बदमासी भएको पाइएको छ।
आर्थिक वर्ष २०८१/०८२ मा अस्पतालको सेवा शुल्क तथा फार्मेसीबाट संकलन भएको रकम बैंकमा जम्मा भएको देखाउन १२९ वटा भौचर तयार गरिएको थियो । तर, ती भौचरअनुसारको ३८ लाख १९ हजार ७ सय ७० रुपैयाँ बैंक खातामा दाखिला नभएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
यो प्रकरण अस्पतालको लेखा परीक्षणका क्रममा बाहिर आएको हो । अडिटका क्रममा फाइलमा बैंक भौचर भेटिए पनि सोही बराबरको रकम बैंक खातामा नरहेको देखिएपछि नगरपालिकाले प्रहरीलाई अनुसन्धानका लागि आग्रह गरेको थियो । त्यसपछि शिवराज नगरपालिकाका तर्फबाट वैशाख ४ गते औपचारिक उजुरी दर्ता गरिएको थियो ।
प्रहरीले अस्पतालका जिम्मेवार कर्मचारी र बैंकका कर्मचारीबीच मिलेमतो भएको आशंकामा अनुसन्धान अघि बढाएको जनाएको छ ।
प्रहरीका अनुसार घटनामा थप तीन जना फरार रहेका छन् । उनीहरूको खोजी भइरहेको छ ।
पक्राउ परेका पाँचै जनालाई कपिलवस्तु जिल्ला अदालतबाट ठगी तथा अपराधिक विश्वासघात कसुरमा सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।