काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सांसद् हर्क साम्पाङले जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षति पुगेको सिंहदरबारभित्रको एउटा भवन श्रमदानमार्फत निर्माण गर्न अनुमति माग गरेका छन्।
सोमबार जारी प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सिंहदरबारभित्रका कुनै एक भवन आफ्नो पार्टी श्रम संस्कृति पार्टीलाई बनाउन दिन आग्रह गर्दै श्रमदान गरेर भए पनि निर्माण गर्ने बताएका हुन् ।
'विगतमा जेनजी आन्दोलनमा जलेको सिंहदरबारका भवनहरूमध्ये कुनै एउटा भवनको एउटा सानो हिस्सा श्रम संस्कृति पार्टीलाई बनाउन अनुमति दिनुस्। हामी श्रमदान गरेर बनाउनेछौँ,' साम्पाङले भने।
२०८२ भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारसँगै देशभरका महत्त्वपूर्ण निकायहरू जलेका थिए ।
संसद् बैठक सुरु हुनासाथ साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले सभामुखको अगाडि पर्चासहित प्रदर्शन गरेको थियो ।
प्रदर्शनमा सो पार्टीका सांसदको छातीमा ‘प्रधानमन्त्री संसद्प्रति जबाफदेही बन्नै पर्छ’, जनमतलाई सम्मान गर’, ‘संसद् छलेर अध्यादेश ल्याउन बन्द गर’, ‘संसदीय मर्यादा पालन गर’ जस्ता नारा लेखेका थिए ।
उक्त प्रदर्शनप्रति सभामुख डोलप्रसाद अर्यालले आपत्ति प्रकट गर्दै बैठकमा पर्चा देखाएर प्रदर्शन गर्न कानुन र नियमावलीअनुसार नमिल्ने बताएका थिए ।