एजेन्सी । गाजामा जारी युद्ध र त्यससँग जोडिएको अन्तर्राष्ट्रिय दबाबका बीच इटालीले भारतबाट इजरायल पठाइँदै गरेको ‘सैन्य–ग्रेड स्टिल’ बोकेको तीनवटा जहाज आफ्ना बन्दरगाहमा रोकेको छ ।
मानवाधिकारकर्मी र अन्तर्राष्ट्रिय नागरिक समाज समूहहरूको सक्रिय निगरानीपछि इटालीले उक्त खेपमाथि हस्तक्षेप गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
अधिकारकर्मी समूहहरूले उक्त स्टिल इजरायली सेनाका लागि हतियार तथा गोला–बारुद निर्माणमा प्रयोग हुने खुलासा गरेपछि कारबाही गरिएको जनाइएको छ ।
इटालीको एक सञ्चारमाध्यमका अनुसार, ‘मेडिटेरेनियन सिपिङ कम्पनी’द्वारा ढुवानी भइरहेका यी खेपहरूलाई इटालीका जियोइया टाउरो र काग्लियारी बन्दरगाहमा रोकिएको हो ।
‘बायकट, डाइभेस्टमेन्ट एन्ड स्यांकसन्स’ (बीडीएस) आन्दोलन तथा ‘नो हार्बर फर जेनोसाइड’जस्ता अन्तर्राष्ट्रिय नागरिक समाज संगठनहरूको ट्रयाकिङ र निगरानीका कारण यी खेपहरूको पहिचान सम्भव भएको बताइएको छ । अधिकारकर्मी समूहहरूका अनुसार, रोकिएको खेपमा कुल ८०६ टन स्टिल थियो ।