Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पोखराको नाइट क्लबमा गुण्डा नाइके ‘सानुभाइ’ समूहको आतंक, युवामाथि गरे कुटपिट

पोखराको नाइट क्लबमा गुण्डा नाइके ‘सानुभाइ’ समूहको आतंक, युवामाथि गरे कुटपिट

शुक्रवार , जेठ १५, २०८३

पोखरा । पर्यटकीय शहर पोखराको एक नाइट क्लबमा गुण्डागर्दी पृष्ठभूमिका युवराज गुरुङ ‘सानुभाइ’ ले युवामाथि कुटपिट गरेका छन् ।

कास्की प्रहरीका अनुसार गत आइतबार राति ‘क्लब १६’मा सामान्य विवादका क्रममा सानुभाइसहितको समूहले अर्को समूहका युवाहरूमाथि कुटपिट गरेका थिए ।

कुटपिटपछि गम्भीर घाइते भएका पीडित युवाले पोखरा प्रहरीमा उजुरी दिएका थिए ।

आक्रमणपछि त्यहाँबाट निस्केको सानुभाइको समूह अहिलेसम्म फरार छ ।

सोमबार पीडित पक्षले उजुरी दिएपछि प्रहरीले घटनाको अनुसन्धान तीव्र पारेको हो। प्रहरीका अनुसार सीसीटीभी फुटेज संकलन गरी फरार समूहको पहिचान र खोजी भइरहेको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार क्लबभित्र सामान्य ठोक्किएको विषयलाई लिएर विवाद सुरु भएको र त्यसपछि सानुभाइ समूहले आक्रामक रूपमा कुटपिट गरेको देखिएको छ।

नुवाकोट ककनी-५ घर भएका ३६ वर्षीय सानुभाइ लामो समयदेखि गुण्डागर्दी तथा आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा पटक-पटक पक्राउ परिसकेका व्यक्ति हुन्। उनी ठमेल क्षेत्रलाई आधार बनाएर आपराधिक समूह सञ्चालन गर्ने व्यक्तिका रूपमा समेत चिनिँदै आएका छन्।

उनलाई पछिल्लो पटक जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गत २२ चैतमा सामाखुसी क्षेत्रबाट पक्राउ गरेको थियो । त्यतिबेला अभद्र व्यवहारको कसुरमा मुद्दा चलाइएका उनी छुटेका थिए ।

प्रहरी अभिलेखअनुसार उनी यसअघि विभिन्न कुटपिट, धम्की, आक्रमण, अभद्र व्यवहार र बैंकिङ कसुरका मुद्दामा संलग्न छन् ।

उनी नुवाकोटका दिवंगत गुन्डा नाइके कुमार घैँटेसँग नजिक सम्बन्ध रहेको बताइन्छ। घैंटे प्रहरी मुठभेडमा ३ भदौ २०७२ मा मारिएपछि उनी ‘बुलेट प्रुफ ज्याकेट’ लगाएर हिंड्न थालेका थिए ।

हाल कास्की प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको समेत पहिचान गर्ने काम भइरहेको जनाएको छ।

साथै सानुभाइलाई पक्राउ गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पनि खटिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077