काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ऊर्जा क्षेत्रको विकास र उपयोगका विषयमा सरकार गलत दिशामा अघि बढिरहेको आरोप लगाएका छन् ।
उनले विद्युत् उपभोगमा थप कर लगाउने निर्णयप्रति आपत्ति जनाउँदै यसले स्वदेशी ऊर्जा प्रयोगलाई निरुत्साहित गर्ने बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै पोखरेलले पेट्रोलियम पदार्थको मूल्यवृद्धि र अभावका कारण विगतमा दुई दिन सार्वजनिक बिदा घोषणा गर्ने सरकारले अहिले ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्तामाथि समेत भ्याट लगाउने निर्णय गरेको भन्दै प्रश्न उठाएका छन्।
'पेट्रोलियम पदार्थको मूल्यवृद्धि र अभावबाट बच्न भन्दै दुई दिन सार्वजनिक बिदा घोषणा गर्ने सरकारले अब ५० युनिट माथिको विद्युत् प्रयोग गर्ने उपभोक्तामाथि समेत भ्याट लगाउने निर्णय गरेको छ। आखिर यस्तो अविवेकी निर्णय कसको हितमा ?' उनले लेखेका छन्।
नेपाल जलस्रोतका हिसाबले विश्वकै धनी मुलुकमध्ये एक रहेको उल्लेख गर्दै उनले स्वदेशी ऊर्जा उत्पादन र उपभोगलाई प्रोत्साहन गर्नुपर्ने समयमा विद्युत् प्रयोगकर्तामाथि थप करको भार थोपर्न उचित नभएको बताएका छन्।
उनका अनुसार यस्तो कदमले नेपाली नागरिकलाई आफ्नै प्राकृतिक स्रोतको अधिकतम उपयोग गर्नबाट निरुत्साहित गर्नेछ।
पोखरेलले पेट्रोलियम पदार्थको आयात घटाउन र हरित ऊर्जाको प्रवर्द्धन गर्नुपर्ने बेला सरकारले विद्युतीय सवारीसाधन प्रयोगलाई समेत निरुत्साहित हुने गरी करको भार थपेको आरोप लगाए।
बजेटको आकार बढाउने उद्देश्यले आयस्रोत देखाउन यस्तो निर्णय गरिएको भए सरकारले तत्काल सच्याउनुपर्ने उनको माग छ।
'सरकार आफैंले नाफा लिएर बिक्री गरेको विद्युत्को खपत बढ्दा भ्याट लगाएर जनताको ढाड सेक्ने होइन, आयात प्रतिस्थापन र उत्पादनशील क्षेत्रमा यसको अधिकतम उपयोग गर्न प्रेरित गर्नुपर्छ,' उनले भने ।