काठमाडौं । सर्वोच्च अदालतले वैवाहिक बलात्कारको अभियोगमा दायर मुद्दामा जिल्ला न्यायाधीश भुवन गिरीलाई सफाइ दिएको छ । सर्वोच्चले उच्च अदालत पाटनबाट उनलाई सफाइ दिने गरी भएको फैसला सदर गरेको हो ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासले मंगलबार उक्त फैसला सुनाएको हो । यससँगै गिरीमाथिको कानुनी प्रक्रिया अन्ततः सर्वोच्चबाटै टुंगिएको छ ।
यसअघि उच्च अदालत पाटनका न्यायाधीश लालबहादुर कुँवर र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले २०८१ चैत ३१ गते उनलाई सफाइ दिने निर्णय गरेको थियो । सो फैसलापछि सर्वोच्चमा मुद्दा पुगेको थियो ।
उच्च अदालतको निर्णयअघि जिल्ला अदालत काठमाडौंले भने गिरीलाई दोषी ठहर गर्दै सात वर्ष कैद र तीन लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो । मुद्दा तह–तह हुँदै अन्ततः सर्वोच्च अदालत पुगेको हो ।
गिरीविरुद्ध उनकै पूर्वपत्नी आरती रावल गिरीले वैवाहिक बलात्कारको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएकी थिइन् । जाहेरीपछि उनलाई पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गरिएको थियो ।