काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै घटाएको छ ।
निगम सञ्चालक समितिको मंगलबार बसेको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन तथा खाना पकाउने एलपी ग्यासको मूल्य घटाउने निर्णय गरेको हो ।
निगमका अनुसार नयाँ मूल्य बुधबार बिहानदेखि देशभर लागू भएको छ।
नयाँ समायोजनअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँले घटाइएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँले कमी गरिएको छ।
यससँगै काठमाडौं, पोखरा र दिपायलजस्ता तेस्रो वर्गका क्षेत्रमा पेट्रोलको नयाँ मूल्य प्रतिलिटर १९७ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १९५ रुपैयाँ कायम भएको छ।
खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिसिलिन्डर १०० रुपैयाँले घटाइएको छ। अब १४.२ केजी क्षमताको एक सिलिन्डर ग्यासका लागि उपभोक्ताले २ हजार ६० रुपैयाँ तिर्नुपर्नेछ। यसअघि यसको मूल्य २ हजार १६० रुपैयाँ थियो।
त्यसैगरी, आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ४० रुपैयाँले घटाएर २२९ रुपैयाँ कायम गरिएको छ। अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य भने प्रति किलोलिटर २६५ अमेरिकी डलरले घटाइएको निगमले जनाएको छ।
नेपाल आयल निगमका अनुसार इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यमा पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घटेर आएकाले स्वचालित मूल्य प्रणालीअनुसार उपभोक्तालाई राहत दिने गरी मूल्य समायोजन गरिएको हो।
