काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल र डिजेल मूल्यमा प्रतिलिटर १५ रुपैयाँले बढाएको हो ।
नयाँ मूल्यसूची बुधबार राति १२ बजेपछि लागू हुनेछ। निगमले मध्यपूर्वमा जारी युद्धका कारण अस्वाभाविक मूल्य बढाउनु परेको बताएको छ ।
निगमका अनुसार, यसअघि पहिलो वर्गमा पेट्रोलको मूल्य १८४.५० रुपैयाँ रहेकोमा अब १९९.५० रुपैयाँ पुगेको छ । त्यस्तै दोस्रो र तेस्रो वर्गमा १८६ र १८७ रुपैयाँ प्रतिलिटर रहेकोमा बढेर २०१ र २०२ रुपैयाँ पुगेको छ ।
त्यस्तै डिजेलरमट्टितेलको मूल्य पनि बढाइएको निगमले जनाएको छ । निगमका अनुसार यसअघि पहिलो दोस्रो र तेस्रो वर्गमा क्रमशः १६४.५०, १६६ र १६७ रुपैयाँ प्रतिलिटर रहेको डिजेल र मट्टितेल बढेपछि क्रमशः १७९.५०, १८१ र १८२ रुपैयाँ प्रतिलिटर पुगेको छ ।
मार्च १६ र ३१ मा आईओसीबाट प्राप्त मूल्यअनुसार निगमलाई पाक्षिक १३ अर्ब २१ करोड रुपैयाँ घाटा पुगेको थियो। उपभोक्ताको हितलाई मध्यनजर गर्दै मूल्य स्थिरिकरण कोषको रकम समेत उपयोग गरेर प्रतिलिटर १५ रुपैयाँ मात्र बढाइएको निगमले जनाएको छ।
यद्यपि, यो मूल्य समायोजनपछि पनि निगम नाफामा भने छैन। १५ रुपैयाँ बढाउँदा पनि निगमलाई अझै पेट्रोलमा प्रतिलिटर ३४ रुपैयाँ ३६ पैसा, डिजेलमा १२० रुपैयाँ ५४ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर ४१६ रुपैयाँ ३७ पैसा घाटा नै रहेको निगमले बताएको छ।
