काठमाडौं । इजिप्टले फिफा विश्वकपमा नयाँ इतिहास रचेको छ । अष्ट्रेलियामाथि पेनाल्टी सुटआउटमा ४–२ को रोमाञ्चक जित निकाल्दै इजिप्ट पहिलोपटक विश्वकपको अन्तिम १६ (प्रि–क्वाटरफाइनल) मा प्रवेश गरेको हो।
निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि ३० मिनेटको अतिरिक्त समयमा पनि कुनै टोलीले निर्णायक गोल गर्न सकेन। त्यसपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो, जहाँ इजिप्टले उत्कृष्ट प्रदर्शन गर्दै ऐतिहासिक सफलता हात पार्यो।
खेलको पहिलो हाफमा इजिप्टका इमाम असौरले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर दोस्रो हाफको ५४औँ मिनेटमा इजिप्टकै मोहम्मद हेनीबाट आत्मघाती गोल भएपछि अष्ट्रेलिया खेलमा फर्किएको थियो।
पेनाल्टी सुटआउटमा इजिप्टका मोहम्मद सबिर, रेमी रबिया, मोहम्मद सलाह र होसम अब्देलगुदले सफल प्रहार गरे। अष्ट्रेलियाका ह्यारी सुतार र हेरिंगटनले भने पेनाल्टी गोलमा परिणत गर्न नसक्दा टोलीको यात्रा समाप्त भयो।
अब क्वाटरफाइनल प्रवेशका लागि इजिप्टले अन्तिम १६ मा अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ।