काठमाडौं । घानामाथि १–० को संघर्षपूर्ण जित निकाल्दै कोलम्बियाले विश्वकप फुटबलको अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।
राउन्ड अफ ३२ अन्तर्गत भएको प्रतिस्पर्धात्मक खेलमा कोलम्बियालाई जित दिलाउन जोन एरियसले पहिलो हाफको १४औँ मिनेटमा गरेको एकमात्र गोल नै निर्णायक बन्यो। त्यसपछि घानाले बराबरी गोलका लागि लगातार दबाब सिर्जना गरे पनि कोलम्बियाली रक्षापंक्तिले अग्रता जोगाउन सफल रह्यो।
यससँगै कोलम्बिया विश्वकप इतिहासमा चौथोपटक अन्तिम १६ मा प्रवेश गर्न सफल भएको छ। अब क्वाटरफाइनल पुग्ने लक्ष्यसहित कोलम्बियाले अन्तिम १६ मा स्विट्जरल्याण्डको सामना गर्नेछ।
कोलम्बिया–घाना खेलसँगै प्रतियोगिताको राउन्ड अफ ३२ का सबै खेल सम्पन्न भएका छन्। अब अन्तिम १६ मा क्यानाडा–मोरक्को, पाराग्वे–फ्रान्स, ब्राजिल–नर्वे, मेक्सिको–इंग्ल्याण्ड, अर्जेन्टिना–इजिप्ट, कोलम्बिया–स्विट्जरल्याण्ड, पोर्चुगल–स्पेन तथा अमेरिका–बेल्जियमबीच प्रतिस्पर्धा हुनेछ।
यी आठ खेलबाट विजयी हुने आठ टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन्।