काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले पहिलो पटक उद्योगी तथा व्यवसायीहरुसँग भेटघाट गरेका छन् ।
प्रधानमन्त्रीमा नियुक्त भएको १०० दिनसम्म निजी क्षेत्रसँग औपचारिक संवाद नगरेका शाहले बुधबार उद्योगी तथा व्यवसायीहरूसँग डेढ घण्टा लामो छलफल गरे ।
जेनजी आन्दोलनपछि नयाँ दल र व्यक्तिको नेतृत्वमा सरकार बनेपछि उद्योगी तथा व्यवसायीहरू आशावादी बनेका थिए । पछिल्लो समय व्यवसायीहरू शेखर गोल्छा, दीपक भट्ट, सुलभ अग्रवाल लगायत पक्राउ परेपछि निजी क्षेत्र त्रसित बनेको थियो ।
तर, आज आज उद्योगी तथा व्यवसायीहरूले युवा प्रधानमन्त्रीसँग करिब डेढ घण्टा छलफल गरेपछि उनीहरु अत्यन्तै उत्साही र आशावादी देखिएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ तथा नेपाल चेम्बर अफ कमर्सका प्रनिनिधिसँगको छलफलमा प्रधानमन्त्रीले शाहले उद्योगी तथा व्यवसायीलाई थुन्ने सरकारको उद्देश्य नभएको बताएसँगै उद्योगीहरु आशावादी बनेका हुन् ।
प्रधानमन्त्रीसँगको छलफलका क्रममा परिसंघका निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवालले ‘कसैले कसुर गरेको भए त्यसको अनुसन्धान गर्ने अधिकार सरकारलाई भए पनि आरोपितको कुरै नसुनी पक्राउ गर्ने कुरा राम्रो नभएको’ भन्दै प्रश्न उठाएको बताए ।
छलफलका क्रममा उद्योगीहरूले प्रधानमन्त्रीसमक्ष आफ्नो पीडा पोख्दै व्यावसायिक वा देवानी मुद्दाहरूलाई समेत ‘फौजदारीकरण’ गरेर अपराधीलाई जस्तो व्यवहार गरिएको गुनासो गरेका थिए ।
व्यवसायीहरुले प्रधानमन्त्रीसँग भने–‘सानो त्रुटि वा प्रक्रियागत अल्झनमा पनि सीधै धरपकड गर्ने, थुन्ने र समाजमा मानमर्दन गर्ने कामले कोही पनि व्यवसायी लगानी गर्न सुरक्षित महसुस गरिरहेका छैनन् ।’
जवाफमा प्रधानमन्त्री शाहले उद्योगी–व्यवसायीलाई थुन्ने सरकारको उद्देश्य नभएको बताएको अग्रवालले जानकारी दिए ।
साथै, सरकारको मुख्य उद्देश्य ‘देश बनाउने’ रहेको र त्यसमा निजी क्षेत्रको महत्त्वपूर्ण योगदान रहने प्रधानमन्त्रीले बताएको पनि उनले बताए ।
धेरै कम बोलेका प्रधानमन्त्री शाहले राज्यको नियत उद्यमीलाई सताउने नरहेको स्पष्ट पारे । उनले भने–‘उद्यमीलाई समातेर कतै पुगिँदैन, हाम्रो लक्ष्य त औद्योगिक वातावरण बनाएर समृद्धि हासिल गर्ने हो । कुनै गलत भाष्यको पछाडि नलाग्नुस्, सरकारले तपाईंहरूलाई दुःख दिने नियत राखेको छैन । अपराधै गर्नेलाई भने कानूनले छाड्दैन ।’
पछिल्ला महिनाहरूमा उद्योगी व्यवसायीमाथि भएका शृंखलाबद्ध धरपकडले त्रसित बनेको निजी क्षेत्र प्रधानमन्त्रीको स्पष्ट आश्वासनपछि उत्साहित बनेको छ ।
छलफलमा प्रधानमन्त्री शाहले मुलुकको आर्थिक गतिविधि चलायमान एवं सशक्त बनाउने, उद्योग–व्यवसाय सञ्चालन थप सहज बनाउने, लगानीमैत्री वातावरण निर्माण गर्ने, नीतिगत तथा प्रक्रियागत अवरोध हटाउने, निजी क्षेत्रको मनोबल अभिवृद्धि गर्ने तथा रोजगारी सिर्जना र उत्पादन वृद्धि गर्ने विषयमा विस्तृत छलफल गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषदेको कार्यालयले जनाएको छ ।
त्यस्तै प्रधानमन्त्री शाहले देशको आर्थिक विकास, लगानी विस्तार, रोजगारी सिर्जना र उत्पादन वृद्धिमा निजी क्षेत्र सरकारको महत्त्वपूर्ण साझेदार रहेको उल्लेख गर्दै उद्योगी व्यवसायीले भोगिरहेका व्यावहारिक समस्या समाधान गर्न सरकार तयार रहेको बताए ।
भेटपछि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले प्रधानमन्त्रीसँगको छलफल पनि निजी क्षेत्रमा आशा जागेको बताए । उनले भने–‘प्रधानमन्त्रीज्यूसँग लामो कुराकानी भयो । निजी क्षेत्रले भोगिरहेका समस्याका कुराहरू हामीले राख्यौं । समस्या समाधान गर्न नियमित छलफल गर्ने कुरा उहाँले राख्नुभयो । यसले पक्कै पनि निजी क्षेत्र आशावादी र उत्साही छ ।’
चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले प्रधानमन्त्रीको कुराले निजी क्षेत्रको आधा समस्या समाधान भएको प्रतिक्रिया दिए ।
उनले भने–‘जुन किसिमले उद्योगी व्यवसायीहरूको मनोबल खस्किएको छ, प्रधानमन्त्रीज्यूसँगको भेटवार्ताले निजी क्षेत्रको आधा समस्या समाधान भयो । अबउप्रान्त मनोबल बढ्छ, हामी पनि त्यही खालको उत्साहका साथ अगाडि बढ्छौँ भन्ने कुरा नै बढी पिनपोइन्ट भयो, फोकस भयो ।’
प्रधानमन्त्रीसँगको छलफलमा महासंघबाट अध्यक्ष अञ्जन श्रेष्ठ र उद्योग समिति सभापति उज्ज्वल श्रेष्ठ, परिसंघबाट निवर्तमान अध्यक्ष अग्रवाल र महानिर्देशक घनश्याम ओझा तथा चेम्बरबाट अध्यक्ष कमलेशकुमार अग्रवाल र वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा सहभागी थिए ।