सर्लाही । सर्लाहीको लालबन्दीमा मोबाइल व्यवसायीमाथि लुटपाटको प्रयास गर्दा गोली प्रहार भएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार लालबन्दी नगरपालिका–७ स्थित बजारमा मोबाइल पसल सञ्चालन गर्ने लालबन्दी नगरपालिका–९ बस्तीपुर निवासी हरिप्रसाद सापकोटा बुधबार राति पसल बन्द गरेर एकजना साथीसँग मोटरसाइकलमा घर फर्किरहेका बेला अज्ञात व्यक्तिहरूले उनीमाथि लुटपाटको प्रयास गरेका हुन् ।
घटना लालबन्दी नगरपालिका–७ र ९ को सीमास्थित आइडियल स्कुल नजिकको एकान्त क्षेत्रमा राति करिब ८ बजेपछि भएको हो ।
मोटरसाइकलमै आएका अपरिचित व्यक्तिहरूले सापकोटालाई रोकेर लुटपाटको प्रयास गरेका थिए। प्रतिकारका क्रममा सामान्य धकेलाधकेल भएपछि आक्रमणकारीले कटुवा पेस्तोलबाट गोली प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमका अनुसार घटनास्थलबाट पड्किसकेको गोलीका दुई वटा खोका बरामद गरिएको छ।
उनले व्यवसायी सापकोटा र उनीसँगै मोटरसाइकलमा रहेका साथी दुवै सकुशल रहेको जानकारी दिँदै घटनाबारे थप अनुसन्धान भइरहेको बताए।
घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मलङ्गवाबाट डीएसपीको नेतृत्वमा थप प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रहरीले बिहीबार बिहान करिब २ बजेसम्म सम्भावित क्षेत्रमा सर्च अपरेसन सञ्चालन गरे पनि घटनामा संलग्न व्यक्तिहरू पक्राउ पर्न सकेका छैनन्।
प्रहरीले फरार आक्रमणकारीहरूको खोजी तीव्र बनाइएको र घटनाको सबै पक्षबाट अनुसन्धान जारी रहेको जनाएको छ।