रूपन्देही । रूपन्देहीमा लागूऔषध ओसारपसारमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा एकजना घाइते भएका छन् ।
घाइते हुनेमा रोहिणी गाउँपालिका–२ खुरहुरियाका विशाल यादव रहेका छन् । उनको बायाँ खुट्टाको पिँडुलामा गोली लागेको छ र हाल भीम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी कृष्णकुमार चन्दका अनुसार रोहिणी गाउँपालिका–४ कोटहवामा लागूऔषध ओसारपसार भइरहेको सूचनाको आधारमा प्रहरीले यूपी ५६ एफ ९९०१ नम्बरको मोटरसाइकलमा सवार तीन जनालाई रोक्न खोजेको थियो ।
तर, उनीहरू भाग्ने प्रयास गर्दा र नियन्त्रणमा लिन खोज्दा ढुंगा प्रहार भएपछि प्रहरीले एक राउण्ड हवाई फायरिङसहित दुई राउण्ड गोली चलाएको हो।
घटनापछि प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा विशाल यादवसहित भारतको महाराजगञ्ज जिल्ला पर्सामलिक ग्राम बिसुनपुरुवाका १८ वर्षीय अरुणकुमार र २० वर्षीय विनय पाण्डेय रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट ठूलो परिमाणमा लागूऔषध बरामद गरेको छ, जसमा फेनरागन, डाइजेपाम र ब्रुफिनका ११००/११०० एम्पुल रहेका छन्। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी छ।
यसैबीच, गौशाला–पिंगलास्थान क्षेत्रबाट पनि लागूऔषध कारोबारको आशंकामा प्रहरीले गोली चलाएर दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।