प्यूठान । शिकारका क्रममा जंगली जनावर ठानेर चलाइएको गोली लाग्दा एक किशोरको ज्यान गएको छ भने एक किशोरी घाइते भएकी छिन् ।
जिल्ला प्रहरी कार्यालय प्यूठान का अनुसार गौमुखी गाउँपालिका–स्थित चुपाल सामुदायिक वनमा भएको उक्त घटनामा नौबहिनी गाउँपालिकाका १९ वर्षीय सुशील परियार गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा बुटवलमा मृत्यु भएको हो ।
घटना चैत्र २९ गते राति करिब १०ः४५ बजे भएको प्रहरीले जनाएको छ। परियार आफ्ना साथी सन्जु परियार (दुर्जे दमाई) सँग करिब साढे तीन घण्टा पैदल हिँडेर गौमुखी गाउँपालिकाको वाग्लिवाङमा केटी साथी भेट्न पुगेका थिए।
उक्त घटनामा गौमुखी गाउँपालिका–४ की १८ वर्षीया किशोरी पनि घाइते भएकी छिन्। उनको लुम्बिनी सिटी हस्पिटल मा उपचार भइरहेको छ र अवस्था खतरामुक्त रहेको अस्पताल स्रोतले जनाएको छ।
प्रहरीका अनुसार गौमुखी गाउँपालिका–४ का २७ वर्षीय वीरेन्द्र केसीसहित ४ जनाको समूह जंगलमा शिकार खेल्न गएको थियो। उनीहरूले बँदेल ठानेर गोली प्रहार गर्दा मानिसलाई नै लागेर दुर्घटना भएको हो।
घटनामा संलग्न वीरेन्द्र केसी, २२ वर्षीय विश्वास केसी, १९ वर्षीय ववि केसी र एक १४ वर्षीय बालकलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूबाट दुई थान भरुवा बन्दुक समेत बरामद गरिएको छ।
प्रहरीले चारै जनामाथि ज्यानसम्बन्धी मुद्दा र हातहतियार सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ। अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।