धनगढी । कैलालीमा श्रीमतीको हत्या गरेर एक जनाले आफूमाथि समेत गोली चलाएका छन् ।
गोदावरी नगरपालिका–४ अमलेशैनी गाउँका अन्दाजी ३१ वर्षीय रामबहादुर मगरले जंगलमा बाख्रा चराउन गएका बेला आफ्नै २८ वर्षीया श्रीमती संजिता मगरको गोली हानी हत्या गरेका हुन् ।
कैलाली प्रहरीका अनुसार दम्पतीबीच भएको विवादका क्रममा मगरले आफूसँग रहेको भरुवा बन्दुक प्रयोग गरी श्रीमतीमाथि गोली प्रहार गरेका थिए ।
घटनापछि उनले सोही बन्दुकले आफूमाथि पनि गोली चलाएका थिए । गम्भीर घाइते अवस्थामा रहेका मगरको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार संजिता मगरको शव घटनास्थलमै रहेको छ र माइती पक्ष घटनास्थलमा पुगेपछि मात्र पोस्टमार्टमका लागि उठाइनेछ । प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।