काठमाडौं । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले विश्वव्यापी रूपमा जटिल र सीमापार फैलिएका सुरक्षा चुनौतीहरू सामना गर्न सशक्त अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताएका छन् ।
न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघ मुख्यालयमा जुलाई ८ मा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको सम्मेलनलाई सम्बोधन गर्दै आईजीपी कार्कीले यस्तो बताएका हुन् ।
उनले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनप्रति नेपालको दीर्घकालीन प्रतिबद्धता व्यक्त गरे । आईजीपी कार्कीले आतंकवाद, अन्तर्राष्ट्रिय संगठित अपराध, साइबर अपराध, गलत तथा भ्रामक सूचना, अवैध वित्तीय प्रवाह तथा जलवायुजन्य असुरक्षाजस्ता चुनौतीहरू थप जटिल बन्दै गएको र सीमाभन्दा बाहिर फैलिएको बताए ।
जुलाई ७ देखि ८ सम्म आयोजित उक्त सम्मेलनमा मन्त्रीहरू, प्रहरी प्रमुखहरू तथा क्षेत्रीय र व्यावसायिक प्रहरी संगठनका वरिष्ठ प्रतिनिधिहरू सहभागी भई राष्ट्रिय तथा संयुक्त राष्ट्रसंघीय प्रहरी संयन्त्रको एकीकृत शक्ति र भूमिकामार्फत विश्व शान्ति, सुरक्षा र विकास सुदृढ गर्ने विषयमा छलफल गरिएको थियो।
कार्यक्रममा नेपाली प्रतिनिधिमण्डलमा सशस्त्र प्रहरी बल नेपालका प्रमुख नारायण दत्त पौडेल पनि सहभागी थिए।
कार्कीले सीमापार चुनौतीहरूको सामना गर्न बलियो अन्तर्राष्ट्रिय सहकार्य अपरिहार्य रहेको बताए।
आईजीपी कार्कीको मन्तव्यको पूर्णपाठ (अनौपचारिक अनुवाद)
“महामहिमहरू, मन्त्रीगण, संयुक्त राष्ट्र संघका उपमहासचिव, विशिष्ट प्रतिनिधिहरू, भद्रभलाद्मी तथा दिदीबहिनीहरू, वैश्विक सुरक्षाका चुनौतीहरू दिनानुदिन जटिल बन्दै गइरहेको यस घडीमा आयोजना गरिएको यस महत्त्वपूर्ण शिखर सम्मेलनमा सहभागी हुन पाउनु मेरो लागि ठूलो सम्मान र सौभाग्यको कुरा हो।
आतंकवाद, अन्तरदेशीय संगठित अपराध, साइबर अपराध, भ्रामक तथा गलत सूचना, अवैध वित्तीय प्रवाह, र जलवायु परिवर्तनजन्य असुरक्षाले सीमानाहरू नाघिसकेका छन् र यसका लागि अझ बलियो अन्तर्राष्ट्रिय सहयोग आवश्यक छ। यस सन्दर्भमा, नागरिकको रक्षा गर्न, विधिको शासनलाई प्रवर्द्धन गर्न र शान्ति कायम राख्न संयुक्त राष्ट्र संघको भूमिका पहिलेभन्दा अझ बढी महत्त्वपूर्ण भएको छ।
नेपाल संयुक्त राष्ट्र संघको शान्ति स्थापना कार्यमा एक अटल र गौरवशाली योगदानकर्ताको रूपमा रहँदै आएको छ। अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाप्रतिको हाम्रो अटुट प्रतिबद्धतालाई झल्काउँदै नेपालले हालसम्म विश्वभरका संयुक्त राष्ट्र संघका मिसनहरूमा १७,८५२ प्रहरी कर्मचारी परिचालन गरिसकेको छ।
हामी व्यावसायिकता, इमानदारिता र आचरणको उच्च मापदण्डप्रति प्रतिबद्ध छौं। नागरिक, विशेष गरी महिला र बालबालिकाको संरक्षण हाम्रो शान्ति स्थापनाको प्रयासको केन्द्रविन्दुमा रहेको छ र हामी सबै तहमा जवाफदेहितालाई सुदृढ गर्दै लैजानेछौं । नेपालले गृह प्रहरी एकाइ (FPU) र व्यक्तिगत प्रहरी अधिकारी (IPO) लगायतका विशिष्टीकृत प्रहरी क्षमताहरूको बढीभन्दा बढी उपयोगलाई समर्थन गर्दछ। हामी क्षमता अभिवृद्धि, ज्ञान आदानप्रदान र परिचालन प्रभावकारिता अभिवृद्धिमा सुदृढ साझेदारीलाई पनि उत्तिकै महत्त्व दिन्छौं।
महामहिमहरू, शान्ति स्थापनाका कार्यहरू विकसित हुँदै जाँदा, संयुक्त राष्ट्र संघीय प्रहरी अनुकूलन योग्य, व्यावसायिक, जनमुखी, प्राविधिक रूपमा सक्षम र उदीयमान सुरक्षा चुनौतीहरूको सामना गर्न तयार हुनुपर्छ। संयुक्त राष्ट्र संघीय प्रहरीको भविष्य संकटको सामना गर्ने मात्र नभई द्वन्द्व रोकथाम गर्ने, विधिको शासनलाई सुदृढ गर्ने, नागरिकको रक्षा गर्ने र लचिलो राष्ट्रिय निकायहरूलाई सहयोग गर्ने कार्यमा निहित छ। दिगो शान्ति र सुरक्षालाई अगाडि बढाउन संयुक्त राष्ट्र संघीय प्रहरीले मानव अधिकार, समुदायमुखी प्रहरी सेवा, समावेशी नेतृत्व र अर्थपूर्ण साझेदारीलाई निरन्तरता दिनुपर्छ।
अन्तमा महामहिमहरू, आजका चुनौतीहरूले अझ बलियो बहुपक्षीयता, नवप्रवर्तन र सामूहिक प्रयासको माग गर्दछन्। व्यावसायिकता र साझेदारीद्वारा निर्देशित हुँदै, हामीले सबैका लागि शान्ति, सुरक्षा र विधिको शासन प्रवर्द्धन गर्न सँगै मिलेर काम गर्नुपर्छ। नेपाल आफ्नो भूमिका निर्वाह गर्न सधैं तयार छ। धन्यवाद। जय नेपाल।”