काठमाडौं । पूर्वपरराष्ट्रमन्त्री तथा नारायणकाजी श्रेष्ठले वर्तमान सरकारले नेपालको परराष्ट्र नीतिलाई असंलग्न र स्वतन्त्र मार्गबाट विचलित गराउन खोजेको आरोप लगाउँदै राष्ट्रिय सार्वभौमिकता र स्वाधीनतामा आँच आउने कुनै पनि कदम स्वीकार्य नहुने चेतावनी दिएका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै श्रेष्ठले नेपालले दशकौँदेखि अवलम्बन गर्दै आएको स्वतन्त्र र असंलग्न परराष्ट्र नीति कमजोर बनाउने संकेत देखिएको दाबी गरेका हुन्।
उनले हालै नेपालमा दलाई लामा को जन्मोत्सव सरकारको औपचारिक अनुमतिमा मनाइनु तथा कार्यक्रममा पश्चिमा कूटनीतिज्ञहरूको सहभागितालाई सामान्य घटनाका रूपमा लिन नसकिने बताएका छन्।
श्रेष्ठले दलाई लामाको उत्तराधिकारी नेपालबाटै घोषणा हुन सक्ने चर्चा चलिरहेको दाबी गर्दै यस्तो संवेदनशील सन्दर्भबीच सरकारी अनुमतिमा जन्मोत्सव आयोजना हुनु परराष्ट्र नीतिमा गम्भीर विचलनको संकेत भएको उल्लेख गरेका छन्।
उनले सरकारले असंलग्न परराष्ट्र नीतिलाई औपचारिक दस्तावेजमा मात्रै सीमित राखेर व्यवहारमा कुनै शक्ति राष्ट्रको रणनीतिक स्वार्थअनुसार अघि बढ्न खोजेको आरोप पनि लगाएका छन्। यस्तो प्रवृत्तिले नेपालको राष्ट्रिय हित, सार्वभौमिकता र स्वाधीनतालाई गम्भीर जोखिममा पार्ने उनको भनाइ छ।
श्रेष्ठले लेखेका छन्, ‘नेपालको स्वतन्त्रता र असंलग्नतामाथि आँच आउने गरी कुनै शक्ति राष्ट्रको स्वार्थमा अघि बढ्नु देशभक्त नेपालीलाई किमार्थ स्वीकार्य हुनेछैन। त्यस्तो अवस्था सिर्जना भए सशक्त प्रतिरोध अनिवार्य हुनेछ।’