Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • पीसीआर टेस्टमा मात्रै ३ अर्ब १८ करोड खर्च

    पीसीआर टेस्टमा मात्रै ३ अर्ब १८ करोड खर्च

    अनलाइन नेपाल
  • शुक्रबार, ५ भाद्र २०७७
  • 4.2K
    SHARES

    फाइल फोटो

    काठमाडाैं । सरकारले शुक्रबारसम्म आरटी पीसीआर टेस्टमा मात्रै ३ अर्ब १८ करोड बढी खर्च गरेको छ । शुक्रबारसम्म जम्मा ५ लाख ७९ हजार ८९९ टेस्ट भएकोमा त्यसका लागि ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार ५०० खर्च भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले एउटा पीसीआर टेस्टका लागि सरकारको ५ हजार ५०० खर्च हुने गरेको भन्दै हालसम्म ५ लाख ७९ हजार ८९९ टेस्ट हुँदा रकम खर्च भएको जानकारी दिए । उनका अनुसार यसमा पीपीई, मास्कलगायतको खर्च जोडिएको छैन ।



    गौतमले ३ अर्ब १८ करोड बढी खर्च गरेर हालसम्म ३० हजार ४सय ८३ जनामा पोजेटिभ केस पाइएको भन्दै यस हिसावले एक जना संक्रमित भेट्टाउन सरकारको १ लाख ४ हजार ६ सय ३० रुपैयाँ खर्च भएको पनि जानकारी दिए । यसबाहेक संक्रमित पुष्टि भएपछि पनि उपचारमा ठूलो धनराशी खर्च हुने भन्दै कोरोनाबाट बच्न सरकारले बनाएको मापदण्ड अनिवार्य पालना गर्न अनुरोध गरे ।



    ‘एउटा केस भेट्दाखेरी हाम्रो राज्यको १ लाख ४ हजार रुपैयाँ खर्च हुन्छ । त्यसपछिको उपचारमा पनि खर्च हुन्छ । एकजना व्यक्तिलाई आईसीयूमा ३० दिन राख्नु पर्यो भने ४ लाख ५० हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ । यसरी कोरोनाको जाँच गर्ने, जाँचबाट पोजेटिभ पत्ता लगाउने, उपचार गर्न बहुत खर्चिलो छ’, प्रवक्ता गौतमले भने, ‘यसैले जरुरी काम नपरी घरबाट ननिस्कन अनुरोध छ।’

    निषेधाज्ञाको बेला पनि घरबाहिर निस्केको पाइएको भन्दै उनले निस्कनै परे अनिवार्य मास्क लगाउन र एकापसमा २ मिटरको दूरी कायम गर्न अनुरोध गरे । यस्तै तीजमा जथाभावी नाचगान र भेला भएको पाइएको भन्दै त्यसो नगर्न पनि उनले सचेत गराए । एकाघरका परिवारका सदस्यका बीचमा मात्रै चाड मनाउन भन्दै उनले चाडबाड मनाउन आफन्तकहाँ नजान पनि अनुरोध गरे ।

    पछिल्लो २४ घण्टामा मात्रै कोरोनाभाइरस संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ भने योसँगै शुक्रबारसम्म कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १३७ पुगेको छ। मृतकमा मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्युठानका १–१ जना गरी ११ जना रहेका छन् । जसमा १ महिला र १० पुरुष रहेका छन् ।

    यस्तै पछिल्लो २४ जनामा थप ८३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म देशभर कुल संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ । पछिल्लो २४ घण्टामा २५० जना डिस्चार्ज भएका छन् भने योसँगै निको हुनेको कुल संख्या १८ हजार २१४ पुगेको पनि गौतमले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार