नेपालले अपवादवाहेक वास्तविक राजनेता पाएको छैन

नेपालले अपवादवाहेक वास्तविक राजनेता पाएको छैन

भरत खत्री
  • शुक्रबार, चैत्र २० २०७७

  • 7K
    SHARES

  • नेपालले अपवादवाहेक वास्तविक राजनेता पाएको छैन

    काठमाडौं। विभिन्न राजनीतिक घटनाहरूको उर्जाले कहिले खुशी त कहिले दु:खी  हुँदै आएका नेपाली जनता नेपालको संविधान जारी पश्चात् अलिक पृथक अनुभुती गरेका थिए।

    संघ, प्रदेश र स्थानीय तहको निर्वाचनमा जनताले उत्कृष्ट व्यवस्था प्रार्दुभाव गरेर मात्र हुदैन । त्यसको नेतृत्व पनि सबल हुनुपर्छ भन्ने कुरामा ध्यान दिदै केहि हदसम्म भएपनि कुशल नेतृत्वको छनोट गरेको श्वास फेरे।

    तर, जनअपेक्षा बमोजिम शासकीय काम कारबाही अगाडि बढेन। जसको प्रतिफल वर्तमान राजनीतिक वातावरण हो।

    राज्यसत्ता हातमा लिएर सम्बद्ध पक्षको हक हितमा त्यसको प्रयोग गर्ने मूलभूत कार्यभार समाहित विशेषताको संज्ञा हो राजनीति ।

    राजनीतिक खेलहरुको क्रममा नेपाल अहिलेको अवस्था सम्म आउँदा पनि अर्धउपनिवेशबाट मुक्त हुन सकेको छैन ।

    मुलुकको सार्वभौमसत्ता बाह्य शक्तिले हातमा लिएर शासन गरिरहेको हुदैन। तर, पुर्ण रुपले स्वतन्त्र भएर पनि चल्न सकिरहेको हुदैन, त्यस्तो अवस्था हो अर्धऔपनिवेशिक। जहाँ राजनीतिक , आर्थिक, सामाजिक मामिलाहरुमा बाह्य शक्तिको प्रभाव हुन्छ।

    पुर्णरुपले उपनिवेश नभएको तर पुर्ण रुपले स्वतन्त्र पनि नभएको अवस्था हो। जुन अवस्था नेपालमा छ।

    नेपाल न त पुर्ण उपनिवेशमा छ नत पुर्ण स्वतन्त्र छ। १८१४ ई. को अङ्ग्रेजी साम्राज्यवाद र नेपाल बिचको युद्ध पश्चात् नेपाल अङ्ग्रेजी साम्राज्यवादको अर्ध उपनिवेशमा थियो।

    भारतबाट अङ्ग्रेजी साम्राज्यवाद परास्त भएपनि त्यसको प्रभावमा आधुनिकता आएको छ। फरक यति मात्रै हो केवल पात्र फेरियो। तर, प्रवृत्ति उही हो। वर्तमान राजनीतिक उथलपुथल हुनुको पछाडि अर्धउपनिवेशको गन्ध समाविष्ट भएको तथ्य नकार्न मिल्दैन।

    संविधानले प्रदान गरेको हक अधिकार तथा व्यवस्था पुर्ण रुपमा लागू भएको छैन। अर्थात संविधानवादले उचित प्रश्रय पाएको छैन। विधिको शासन फितलो छ ।

    कानुनी राज्यको अवधारणा ओरालो लागेको छ। जहाँ शक्ति पृथकिकरणको मुल्य मान्यतालाई कुल्चिएको छ। जसको शक्ति उसको भक्ति भन्ने उक्ति राजनितीक बजारमा निकै चर्चामा आएको छ। जसले नेपालमा राजनितीक भुकम्प सृजना गराएको छ।

    नेपालमा वास्तविक विकास भएकै छैन। व्यवस्था परिवर्तन हुदैमा, सिमित संरचना निर्माण हुदैमा विकासको आँधि आयो भन्न मिल्छ र? वास्तविक विकास त चिन , अमेरिका, जापान लगायतका विकसित देशहरुको जस्तो हुन्छ।

    बिगतको अवस्था तर्फ दृष्टिपात गर्नुहोस् त के लाग्छ, नेपालमा साच्चिकै विकास भएकै हो त? जनताको अवस्थामा सुधार आएको छैन। कोहि गाँस बाँस कपास नपाएर मरिराछन भने कोही प्रयोग गर्न नजानेर मरिराछन। गरिव झनै गरिव भएका छन भने सिमित धनि व्यक्ति झन धनिको पन्नामा छन् ।

    यसलाई विकास भन्न मिल्दैन होलानि? नेताको जीवनशैली र निजहरुको परिवारमा जरा गाडेको युगान्तकारी कायापलटलाई देशकै विकास भन्न मिल्ने भा देशमा विकास भएकै हो। आखिर यस्तो हविगत कहिले सम्म सहने?

    सङ्कुचित मनसायवाट प्रेरित राजनितीक नेतृत्वको सफलता हो वर्तमान अवस्था। नेपालले अपवादवाहेक वास्तविक राजनेता पाएको छैन। निश्चित वर्ग नभई समग्र देशको पक्षपोषण गर्ने नेता हो वास्तविक राजनेता।

    व्यक्तिगत स्वार्थको बारेमा मात्र सोच्ने र सो उपर व्यहार गर्ने नेतालाई राजनेताको उपाधि अपच हुन्छ। राज्य सत्तामा गएपश्चात म मेरो वर्गको मात्र होईन देशवासिको नेतृत्व हुँ त्यसैले सबैको भलो हुने तथा ठोस र सर्वमान्य कार्याकलाप गर्नुपर्छ भन्ने सोच र व्यवहारको नेतृत्वको नेपालमा खडेरी नै परेको छ।

    नेपालको वर्तमान राजनीतिक वातावरणमा बिषालु किटाणुको मात्रा अधिक भएको छ।

    जसको परिणाम सार्वभौमसत्ता , भौगोलिक अखण्डता , स्वाधीनताको जग हल्लिएको छ। यदि यहि स्वरुपमा विवादले गति लिएमा उक्त जगले आफ्नो स्थान परिवर्तन गर्ने प्रचुर सम्भावना देखिन्छ।

    राजनितीक विवादको कारणले राजनीतिक अस्थिरताले प्रशस्त भोजन पायो। साथै न्यायको मुल्य निर्धारण, भ्रष्टाचार वृद्धि , अर्धउपनिवेशको प्रभावमा बलियो शक्तिको उदय, विकास गतिविधिमा रोकावट तथा बाढीको आगमन, अन्याय, अत्याचार , शोसन, दमको दायरामा अग्नि सरहको उर्जाको प्रवेश, प्रचलित व्यवस्थामाथि विध्वंसात्मक काँडाको जन्म जस्ता समस्याहरू देखा परेका छन।

    विगतको घटनामा देश परिवर्तनको युगान्तकारी खाकाको तर्जुमाकर्ता आज आएर किन व्यक्तिगत स्वार्थमा तल्लीन भए भन्ने बारे बाहिर बसेर गुनासो गर्ने मात्र नभइ बृहत समिक्षा गरि गल्तीहरु सुधारि संयुक्त रुपमा अगाडि बढ्नुको विकल्प छैन।

    आपसी सहमति तथा सम्झौता भन्दा ठुलो ओखति अरु केनै होला र समस्या समाधानको लागि । नेपालको वर्तमान समस्या तवसम्म समाधान हुदैन, जबसम्म सम्बद्ध पक्षहरूबीच विस्तृत र व्यापक बहस बाट सकारात्मक निष्कर्ष निक्लिदैन।

    पछिल्लो पुस्ता नेतृत्वमा आएपनि अहिलेको जस्तो समस्या आउँदैन भन्न सक्ने परिस्थिति छैन, किनकि पछिल्लो पुस्तापनि अघिल्लो पुस्ताको संस्कारमा हुर्किएको छ। वास्तविक विकास गर्नको लागि वास्तविक राजनेता चाहिन्छ ।

    जसको लागि शक्तिशाली विकल्प भनेको नेपालको संविधानको वस्तुनिष्ठ कार्यान्वयन गर्दै पुरानो राजनीतिक चरित्रलाई परिस्कृत गर्दै विश्व बजारमा प्रतिस्पर्धा गर्न समर्थ राजनितीक वातावरण तयार गर्नु पर्छ।

    अब कुशल नेतृत्व निर्माणमा अबेर गर्नु हुदैन। इच्छाशक्ति , जिम्मेवारिबोध र इमान्दारिता समाबिष्ट बिशेषताको बिज्ञलाई उसको क्षमताको आधारमा सम्बन्धित क्षेत्रको नेतृत्व दिनुपर्छ ।

    जस्तैः कानुनी क्षेत्रमा कानुन विज्ञ , स्वास्थ क्षेत्रमा स्वास्थ विज्ञ। वर्तमान समस्या समाधान गर्न जनता, सम्पुर्ण क्षेत्रका नेतृत्व, राजनीतिज्ञ र देशप्रेमि तथा प्राकृतिक र कानुनी व्यक्तिहरु बीच बृहत समिक्षात्मक क्रान्ति आवश्यक छ।

    नत्रभने प्रतीक्रियावादीको हाविले सबैको पहिचान मेटाईदिनेछ। तसर्थ बेलैमा सजग हुन जरुरी छ।

    (लेखक बिएएल एलबी , प्रथम वर्ष/ काठमाडौं स्कुल अफ ल, भक्तपुरमा अध्ययनरत हुनुहुन्छ )

    अनलाइन नेपालमा प्रकाशित समाचारको बारेमा कुनै प्रतिक्रिया, सुझाव तथा सूचना दिनुपरेमा [email protected] मा पठाउनुहोला । निरन्तर समाचारको लागी हामीसँग फेशबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार