Online Nepal
  • शनिबार, ११ मंसिर २०७८
  • एक वर्षको अवधिमा झण्डै एक लाख जनालाई खाना खुवाएँ

    एक वर्षको अवधिमा झण्डै एक लाख जनालाई खाना खुवाएँ

    अनलाइन नेपाल
  • बुधबार, १ बैशाख २०७८
  • 11.5K
    SHARES

    सामाजिक सेवालाई नै आफ्नो कर्म मान्दै आएका समाजसेवी प्रदिप घिमिरे ‘अमूल्य’ लकडाउन भएदेखि नै पीडितहरुको घाउमा मल्हम लगाउन तल्लिन छन् । नेपाल सरकारले कोरोनाको महामारी फैलिन नदिनका लागि भन्दै २०७६ चैत ११ गतेदेखि नेपालमा लकडाउन शुरु गरेको थियो । पहिले एक साताका लागि भनेर गरिएको लकडाउन पटक–पटक थप हुँदै चार महिनासम्म लम्बियो । त्यससको असर अझै ताजै छ । त्यसमाथि फेरि पनि कोरोनाको संक्रमण उच्च गतिमा फैलिन थालिसकेको छ । लकडाउनका कारण दुःख र पिडामा परेर सडकमा पुगेका व्यक्तिहरुको मुख जोर्ने काम गरेका प्रदिप घिमिरेले लकडाउन पछिको एक वर्षमा झण्डै एक लाख जनालाई खाना खुवाइसकेका छन् । पहिले आफ्नै बलबुताले खाना खुवाउँदै आएका घिमिरेलाई पछि–पछि भने सहयोगी मनहरुलले सहयोग गरेका थिए । सबैको साथ र सहयोग पाएका घिमिरेले अहिले पनि अप्ठेरोमा परेर खान नपाएकाहरुलाई खाना खुवाउँदै आएका छन् । उनै समाजसेवी घिमिरेले गरेको काम र समाजसेवाका बारेमा गरिएको कुराकानीको सम्पादित अंश :

    ० तपाईंले खाना खुवाउन कहिलेदेखि शुरु गर्नु भएको हो ?
    – संसारभर कोरोना भाइरस आक्रान्त बन्दै गएपछि विना तयारी नै नेपाल सरकारले २०७६ साल चैत्र ११ गतेदेखि लकडाउन घोषणा गर्यो । एक हप्ता पनि वित्न नपाउँदै त्यसको प्रत्यक्ष असर उपत्यकालगायत देशभर नै देखिन थालिसकेको थियो । जसले गर्दा मैले २०७६ चैत्र १६ गतेदेखि ड्राइफुड तथा खाद्यान्न सामग्री र चैत्र २९ गतेबाट नियमित भोजन सेवा शुरु गरेको थिएँ ।



    ० तपाईंमा कसरी खाना खुवाउने चाहना पलायो ?
    – सबै भन्दा पहिला लकडाउनले मूख्य रुपमा दैनिक ज्यालादारीमा काम गर्ने श्रमिक वर्गको रोजीरोटी खोस्यो । काम विहिन बनेका तमाम श्रमिक वर्ग जब खाना खान नपाएर सडकमै भोक भोकै तड्पिएको आफ्नै आँखाले देख्ने र भोग्ने अवस्थाको श्रृजना भयो, तब मेरो दिमाखमा भोका पेटलाई कसरी भरण पोषण गर्न सकिएला भन्ने सोच पलायो । अनि त्यसै रातबाट आफ्नै कोठाबाट भोजन बनाएर लिएर गएँ । त्यसपछिको भोजन सेवा कार्य निरन्तर जारी छ ।

    ० हालसम्म कति जनालाई खाना खुवाउनु भयो, तथ्यांक छ ?
    – लकडाउन सुरु भएदेखि हालसम्म झण्डै एक लाख जनालाई भोजन सेवा गराइसकेको छु ।

    ० खना खुवाउँदा कस्ता व्यक्तिहरुलाई प्राथमिकतामा राख्नु भयो ?
    – मूख्य गरेर अपाङ्गता भएका व्यक्तिहरु, श्रमिक, एकल महिला, वृद्धवृद्धा, दीर्घरोगी, मुटु रोगी, मृगौला रोगी, सुत्केरी, घरवार विहीन बनेर सडक पेटीमा जीवन गुजार्न बाध्य व्यक्तिहरुलाई नै उच्च प्राथमिकतामा राखेर खाना खुवाउने कार्यक्रम निरन्तर जारी छ ।

    ० एक वर्षसम्म खाना खुवाउँदा कस्ता–कस्ता व्यक्तिहरु भेट्नु भयो ?
    – एक वर्ष भरिमा खाना खुवाउने क्रममा त्यस्ता व्यक्तिहरुसँग भेट भयो, जसलाई मैले यस अघिको जीवनमा यति धेरै गहन तरिकाले मानिसको सामान्य जनजीवन पहिल्याउन सकेको रहेनछु । त्यसको अनुभूत मलाई भयो । बाहिर मुस्कान लिएर हिँडेका मानिस एक छाक खाना नखाई कसरी हिँड्दो रहेछ भन्ने कुरा नजिकबाट नियाल्ने अवसर मिल्यो । छ दिनदेखि निरन्तर खाना नखाई दुई चार घुट्की पानीले जीवन धानेका व्यक्ति पनि भेटियो । न घर, न परिवार, न इष्टमित्र, न छरछिमेक, सडकमा बस्ने कुकुरलाई नै आफ्नो परम मित्र मानेर अत्यन्तै नाजुक जीवन जीउने व्यक्तिहरु पनि भेटिए ।

    बस्ने ठाँउ कतै नभएर पुलमुनी, ढलको पाइपमुनी, चिसो सडक पेटीमा र देवालय तथा शिवालय, पाटी, पौवाको आडमा आश्रय लिएर बस्ने व्यक्तिहरु पनि भेटिए । कोठा भोडा तिर्न नसकेर घर धनीले निकालेर सडक पेटीमा बस्न आउने व्यक्तिहरु पनि भेटिए । शारीरिक रुपमा अशक्त भएर पनि पीडा लुकाई श्रम गर्ने जेष्ठ नागरिक समेत भेटिए । रोगले ग्रस्त अवस्थामा पारासिटामोलसम्म खान नसक्ने अवस्थाका व्यक्तिहरु पनि भेटिए । खाना खान नपाए फोहोरमा भेटिएका भातका सिता खोजेर खाने पनि भेटिए ।

    विष्णुमती खोलाको फोहोर पानी खाँदै गरेको पनि भटिए । कोभिड–१९ को परीक्षण र नतिजा पोजेटिभ आएको रिपोर्ट हातमा बोकेर अस्पताल धाउँदा पनि उपचार नपाएका व्यक्ति पनि भेटिए । कोरोना लागेर पनि उपचार नपाएर मैतिदेवीको सडक पेटीमा बस्न विवस बारा निजगडका सोमबहादुर लामाजस्ता व्यक्तिलाई पनि भेटे । जो मैतिदेवीको सडक पेटीमा समूहमा बस्थे । जसलाई उद्धार गरी उपचार पछि निको भएर घर पठाएँ । घरमा परिवार र छिमेकीले छिछी र दुर्दुर गरेपछि पैदल काठमाडौैं आएका उनीलाई रोजगारीको प्रवन्ध गराई पुर्नस्थापना गराएँ ।

    ० तपाईंले गर्नुभएको यो सामाजिक सेवाको प्रेरणाको स्रोत चाहिं कसलाई मान्नुहुन्छ नि ?
    – मैले गरेको जुन समाज सेवा छ, यसको प्रेरणाको श्रोत मेरो अन्तर्मन नै हो । जुन दृष्य लकडाउन पछि मैले दिन दिनै देखेँ, त्यसपछि एक दुई दिन त मलाई निन्द्रा नै परेन । अनि आफ्नै अन्तर्मनबाट अठोट गरेँ कि अब म यो पीडामा परेका व्यक्तिहरुलाई आफूले सकेको मलम लगाउने कोसिस गर्छु । अनी उनीहरुको पीडालाई आफ्नै पीडा सम्झी मनन गरेपछि यो प्रेरणा मलाई मिलेको हो ।

    ० खाना खुवाउनको लागि आर्थिक पाटो कसरी व्यवस्थापन गरिरहनु भएको छ ?
    – सुरुका केही दिनहरुमा आफ्नै उपलब्ध श्रोत र साधनहरुलाई उच्चतम उपयोग गरी सानो–सानो समूहलाई आवश्यकता अनुसारको सहयोग सुरु गरें, अनि पीडितहरुको संख्या बढ्दै जान सुरु भयो । मेरो निरन्तर प्रयासलाई इष्टमित्र, छरछिमेक, साथीभाई र सहयोगी मनहरुको साथ मिल्दै गयो र यो कार्यलाई निरन्तरता दिन सहजता हुँदै गयो । यद्यपी यो कार्य जारी छ ।

    ० विभिन्न व्यक्तिबाट सहयोग पाएको बताउनु भयो, सहयोग तपाईले माग्नु भएको कि उहाँहरुले स्वतस्फूर्त उपलबध गराउनु भएको हो ?
    – मैले यस अघि नै चर्चा गरेझैं जब म पूर्ण मनोभावका साथ यो अभियानमा समाहित भएँ । मेरो कार्य र त्यसले पुर्याएको परिणामलाई नजिकैबाट बुझेका व्यक्ति तथा संघ संस्थाले स्वस्फूर्त रुपमा यस कार्यलाई अपनत्व लिँदै साथ र सहयोग दिन थाल्नुभयो ।

    ० सहयोगी ति मनहरुलाई के भन्न चाहनुहुन्छ ?
    – परोपकार पूण्यायः भन्ने यो वेदको मर्म तब साकार भयो, जब ती आँशुमा जीवन व्यतित गरिरहेका असहाय वर्गले दुई छाक खाना खान पाएपछि पलेटी परेका ओठमा मुस्कान ल्याएँ । म असाध्यै खुसी छु, र हृदयदेखी विशेष आभार व्यक्त गर्दछु । म त केवल साधन मात्रै हुँ । साध्य बनेर मेरो अभियानलाई अन्तर्हृदयदेखि साथ, सहयोग, हौसला, प्रेरणा र आर्शिवाद दिनुहुने तमाम सहयोगी मनहरुप्रति म नतमस्तक छु । उहाँहरुको साथ सहयोगले यो पुण्य कार्य अहिलेसम्म सम्भव भएको छ । म पुनः उहाँहरुलाई शिर निहुर्याएर हार्दिक नमन गर्दछु ।

    ० फेरि पनि कोरोनाको जोखिम बढ्दै गइरहेको छ, फेरि पनि आफ्नो सामाजिक कार्यलाई निरन्तरता दिने सोच बनाउनु भएको छ कि ?
    – हालसम्म पनि मैले यो कार्यलाई निरन्तरता दिई रहेको छु । अहिले कोरोना भाइरसको ग्राफ तेजिलै बढ्दै गइरहेको छ । मलाइै असाध्यै चिन्ता लागेको छ, र यो कार्यलाई निरन्तरता दिने सोच बनाएको छु ।

    ० तपाईं कुनै संस्थामा अवद्ध हुनुहुन्छ ?
    – हाल कुनै पनि संघ संस्थामा आवद्ध छैन । स्वस्फूर्त रुपमा व्यक्तिगत प्रयास हो । जसमा सहयोगी मनहरुको अत्यन्तै ठूलो साथ र सहयोग रहँदै आएको छ ।

    ० तपाई आफूले आफैलाई कस्तो ब्यक्ति भन्न रुचाउनु हुन्छ ?
    – म आफैंलाई त एक साधारण व्यक्ति भन्न रुचाउँछु र सबै मानवका आधारभूत मानवीय आवश्यकता समान हुन्छन् भन्ने कुरा सबैले बुझिदियोस् भन्ने इच्छा राख्दछु । जीवन क्षणिक छ । संसारमा भएका जीवत आत्माहरुले एक दिन यो भौतिक शरीर यसै धर्तिमा छाडेर जानु पर्दछ । बाँचुन्जेल असल व्यक्ति बनेर जीवित प्राणीहरुलाई पनि जीवन अस्तित्वको रुपमा स्वीकार गर्ने मनोभाव बनाऊँ यही भन्न चाहन्छु । उनीहरुको पनि यस धर्तीमा बाँच्न पाउने नैसर्गिक अधिकारको रक्षा गरौं ।

    ० कोरोनाको महामारीमा सरकारले यो कार्य गरेको भए हुन्थ्यो भन्ने केही लागेको छ ?
    – सुरु सुरुमा सरकारसँग केही आशा र अपेक्षा गरेको हो । किन भने राज्य र सरकार आम नागरिकहरुको अभिभावक पनि हो । तसर्थ यो अपेक्षा राख्नु नौलो भएन । सरकार भन्नु र व्यक्तिहरु फरक हुन् । तर, हाम्रो देशमा सरकार चलाउने व्यक्तिहरु राजनेता भएनन् । राजनीति गर्ने राजनीतिकर्मी त भए, तर नेता भएनन् । त्यसैले यो अपेक्षा बालुवामा पानी नै भयो । तब म जस्ता हजारौं मन पीडितहरुलाई मलम लगाउन अघि सर्नू पर्ने बाध्यता आई लाग्यो । सरकारले गरेको भए त हामीले किन यसरी अहोरात्र खटिरहनु पथ्र्या र ?

    ० अन्त्यमा आम नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई के भन्न चाहनुहुन्छ ?
    – यस विसम परिस्थिति चाँडै अन्त्य होला भन्ने अपेक्षा थियो । अपशोच एक वर्षपछि अझ विकराल रुपमा बढ्दो छ । पीडितहरुको व्यथा वर्णन गरी साध्य छैन । लाखौंको संख्यामा मानिसहरुको रोजगारी गुमेर बेरोजगार भएका छन् । आर्थिक अवस्था नाजुक छ । उद्योग कलकारखाना लडखडाएका छन् । व्यापार व्यवसाय चौपट छ । वैदेशिक रोजगारीमा गएका व्यक्तिहरुको उस्तै बिचल्ली भएको छ ।

    स्वदेशमा पनि होटल, स्कुल, कलेज, पर्यटन, कृषिलगायत समग्र क्षेत्र अस्तव्यस्त रहेको छ । यस्तो विसम परिस्थितिका बाबजुत पनि निरन्तर अभियानमा जोडिएर साथ, सहयोग, हौसला,उर्जा, प्रेरणा र आशिर्वाद दिनुहुने समस्त सहयोगी मनहरुलाई शिर निहुर्याएर हार्दिक–हार्दिक आभार व्यक्त गर्दै नयाँ वर्ष २०७८ सालको पावन अवसरमा शुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायू एवम् उत्तरोत्तर प्रगतिको कामना गर्दै पुनः हार्दिक आभार व्यक्त गर्दै निरन्तर साथ सहयोग र हौसलाको अपेक्षा गर्दछु ।

    सम्बन्धित विषय
    प्रतिक्रिया
    नयाँ अपडेट
    अन्य समाचार