Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • रूस कहिल्यै पनि युद्धको पक्षमा थिएन तर अब रूससँग सम्झौता नगर्ने युक्रेनी संकल्प फिर्ता नभएसम्म युद्ध अन्त्य हुँदैन

    रूस कहिल्यै पनि युद्धको पक्षमा थिएन तर अब रूससँग सम्झौता नगर्ने युक्रेनी संकल्प फिर्ता नभएसम्म युद्ध अन्त्य हुँदैन

    अनलाइन नेपाल
  • शुक्रबार, २६ माघ २०८०
  • 996
    SHARES

    फाइल फोटो

    दुई वर्षयता रूस र युक्रेन युद्धमा छन् । यसमा दुवैतर्फका गरी करिब ५ लाख मानवीय क्षति भइसकेको छ । अहिलेसम्म युद्ध अन्त्यको कुनै छनक पनि देखिएको छैन । युद्ध सुरुवातको निर्णयमा पुटिन कतिबेला पुगे र उनी युद्ध अन्त्यको घोषणाको निर्णयमा कहिले पुग्लान् ? युक्रेनका राष्ट्रपति भ्लादमिर जेलेन्स्की पुटिनलाई कति शक्तिशाली लाग्छन् ? यिनै सेरोफेरोमा रहेर अमेरिकन प्रख्यात प्रस्तोता टकर कार्ल्सनले क्रेमलिन पुगेर पुटिनसँग गरेको वार्ताको सम्पादित अंश-

    0 कुन क्षणमा आएर तपाईंले अब युद्धमा जानुपर्छ भन्ने निर्णय गर्नुभयो ?



    –  युद्ध सन् २०२२ मा भएपनि यसको पृष्ठभूमि सन् २०१४ देखि तयार भएको थियो । जर्मनी, पोल्याण्ड र फ्रान्सका प्रतिनिधि किएभ पुगेर भिक्टोर यानोकोभिचविरुद्ध प्रतिपक्षीलाई उचाले । उनीहरूले शान्तिको प्रत्याभुती सहित त्यहाँ राजनीतिक हस्तक्षेप गरेर कुमा सहयोग गरे । यानोकोभिचले आफूले जित्नै नसक्ने परिस्थितिका बाबजुद निर्वाचन घोषणा गरे । जब निर्वाचनबाट नयाँ सरकार आयो, उसले मिन्स्क सम्झौतालाई नमान्ने भन्दै चुनौती दियो ।



    हामीले दशकौंदेखि रूसको सुरक्षामा चुनौती दिनेगरी उत्तर एट्लान्टिक सन्धि संगठन नेटोको विस्तार अमान्य हुने बताउँदै आयौं । तर हामीलाई चुनौती दिनेगरी त्यसको समेत विस्तार भयो । हामीसँग कुनै सल्लाह नै नगरी युक्रेनलाई नेटोमा राखियो । यता फ्रान्स र जर्मनीको समेत मध्यस्थतामा भएका सम्झौतालाई चुनौती दिने काम भयो । युद्धको पृष्ठभूमि सन् २०१४ देखिनै तयार गरिएको हो । रूस कहिल्यै पनि युद्धको पक्षमा थिएन । हामीलाई सन् २०२२ मा युद्धमा धकेलिएको हो।

    0 के तपाईंले युद्ध सुरु गर्नुअघि अमेरिकी वा युरोपियन नेतृत्वलाई केही जानकारी दिनुभएको थियो ?

    –  युद्ध सुरु गर्नुअघि मैले अमेरिकी र युरोपियन नेतृत्वलाई बारम्बार सम्बोधन गर्दै सम्झौता पालना गराउने वातावरणका निम्ति आग्रह गरेकै थिएँ । डोनबास्क क्षेत्र स्वतन्त्र हुँदा त्यहाँ जनताले पनि शान्तिपूर्ण र सहज जीवनयापन गर्न पाउँथे । सबैतिर शान्ति नै हुनेथियो । धक नमानिकन भन्नुपर्दा, मिन्सक सम्झौताको पालना कसरी गर्ने भन्ने त थियो नै तर यस क्षेत्रको शान्तिका लागि म स्वयं त्यस सम्झौतालाई पूर्ण पालना गर्नुपर्छ भन्ने पक्षमा थिएँ । युक्रेनमा नयाँ सरकार आएसँगै सबैकुरा सैन्य कदमतर्फ अग्रसर हुन थाल्यो । युद्ध रूसले होइन युक्रेनले सुरु गरेको हो । युक्रेनले सन् २०१४ देखि तयार गरेको युद्धको पृष्ठभूमिमा हामी अहिले लडिरहेका छौं ।

    0 के तपाईंले यो युद्धमा आफ्नो लक्ष्य हासिल गर्नुभयो त ?

    –  यो युद्धमा हामीले हाम्रो लक्ष्य हासिल गरिसकेका छैनौं । हाम्रो लक्ष्य भनेको नेटो समर्थित सबै गतिविधि हाम्रो भूमीनजिक प्रतिबन्ध हुनुपर्छ भन्ने हो ।

    0 यति मात्रै हो वा अरु पनि ?

    –  युक्रेनलाई कतिपय भूभाग रूसले नै उपहार दिएको हो । जब उसले १९ औँ शताब्दीपछि आफ्नो पहिचान खोज्न थाल्यो, केही युक्रेनी समूहले हिटलरसँग लागेर रूसीविरुद्ध हमला गरेको दृष्टान्त हामीले बिर्सनुहुँदैन । यस प्रकरणले युक्रेनको पहिचानमा समेत असर पुगेको थियो । रूसले सधै के मान्दै आएको थियो भने युक्रेनीहरू रूसकै एक पाटो हुन् । तर त्यहाँ त नाजी विचारधारले निकै जरा गाडिसकेको रहेछ । त्यसको उदाहरण त क्यानडाको संसदमा गएर युक्रेनका राष्ट्रपति जेलेन्स्कीले हामीविरुद्ध गरेको निकै अपमानजनक भाषण र उनले त्यस्तो गर्दा त्यहाँ पाएको ताली र सम्मानबाट पनि पुष्टि हुन्छ । रूस सधै नाजी विचारधाराको विरुद्धमा छ। यसका विरुद्ध सधैं लडिरहन्छ ।

    0 यो युद्ध अन्त्यका लागि केही पहल वा वार्ता भएका छन् वा छैनन् ?

    –  युद्ध अन्त्यका लागि पहल वा वार्ता नभएका होइनन् । गत वर्ष इस्तानबुलमा यसको प्रयत्न भएकै हो । सम्झौताका लागि निकै उच्च तहमा पहल भएकै हुन् । इस्तानबुलमा हामीलाई किएभबाट सैनिक फिर्ता हुनुपर्ने भनियो । मैले फ्रान्स र जर्मनीका मेरा समकक्षीसँग कुरा गर्दा उनीहरूले सम्झौताका लागि यो कदम आवश्यक भने । मैलेपनि किएभबाट सेना फिर्ता गर्ने भनिदिएँ । जसै, त्यो निर्णय रूसले लियो त्यही बखत सम्झौताका बुँदा युक्रेनले डस्टबिनमा फालिदियो । बेलायत र अमेरिकाको उक्साहट हामीमाथि सैन्य आक्रमण बढायो ।

    0 के युद्ध अन्त्यका लागि अब कुनै शान्तिवार्ता हुनसक्छ ?

    –  हामी त जहिले पनि सम्झौताकै पक्षमा छौं । युक्रेनले नै रूससँग कुनैपनि सम्झौता नगर्ने घोषणा संसदबाट पारित गरेको अवस्थामा त्यस घोषणा अन्त्य नभएसम्म कुनै वार्ता हुँदैन । उसले आफूले मात्रै होइन, आफ्ना सहयोगी राष्ट्रका पहल समेत नमान्ने बताइसकेको छ । यस्तो अवस्थामा वार्ता कसरी हुन्छ ? त्यहींमाथि युक्रेनले यस्ता माग राखिरहेको छ कि त्यसका लागि आपसी वार्ता त झनै अपरिहार्य छ ।

    0 तपाईं जेलेन्स्कीसँग त वार्ता गर्नुहुन्न। यस मामिलामा बाइडेनसँग पछिल्लोपटक कहिले संवाद भएको थियो ?

    –  बाइडेनसँग ठ्याक्कै कहिले वार्ता भयो मैले बिर्सिएँ । उनीसँगको वार्ता सम्झनैपर्छ भन्ने पनि छैन र मेरा अन्य प्राथामिकताहरूका कारण त्यसलाई स्मरण पनि गर्दिनँ ।

    0 रूसविरुद्धको युद्ध अमेरिकी सहयोगमै भइरहेकाले केही कुरा त भएका होलान् नि ?

    –  मैले बाइडेनलाई पटक-पटक रूसलाई युद्धमा धकेलेर अमेरिकाले ऐतिहासिक भूल गर्‍यो भनेको छु ।

    0 बाइडेननले के भन्नुभयो त ?

    –  तपाईं अमेरिकी जनता हो । उहाँको प्रतिक्रिया तपाईंले मलाई भन्दा पनि उहाँलाई गएर सोध्दा उचित होला ।

    0 तपाईंलाई जेलेन्स्की कत्तिको शक्तिशाली लाग्छ र तपाईं उहाँलाई के भन्न चाहनुहुन्छ ?

    –  कसैको बारेमा सिधै लेखाजोखा गर्ने काम निकै गाह्रो हो । जेलेन्स्की बहुमत प्राप्त गरेर युक्रेनमा नेता भएका मानिस हुन् । म उनलाई केही कुरा भन्ने सोध्न चाहन्छु । आफ्ना पिताले नाजी अभियानविरुद्ध लड्दा उनले त्यसलाई किन साथ दिइरहेका छन् । कुनै पनि आधुनिक र सभ्य राष्ट्रमा त्यस्ता विचारधाराको प्रवर्द्धन सुहाउँछ ? यद्यपि मेरा प्रश्नका बाबजुद पनि उनलाई छनौटको स्वतन्त्रता भने पक्कै छ ।

    0 युक्रेनले रूसविरुद्ध युद्ध लड्ने निर्णय किन लियो जस्तो लाग्छ र अब यसको शान्तिपूर्ण रुपान्तरण कसरी हुन्छ ?

    –  युक्रेन उचालिएको हो । रूसको विरोध गर्ने बित्तिकै सहयोग गरिहाल्ने प्रवृत्ति पश्चिमा मुलुकहरूमा छ । युक्रेनले रूसविरुद्ध आवाज बुलन्द गर्दा सहमति गराउन छोडेर तत्कालीन बेलायती प्रधानमन्त्री बोरिस जोनसोनले युद्धका लागि उक्साइरहेका थिए । युद्ध भए रूसलाई सहजै पराजित गर्ने पश्चिमाहरूको आकल थियो । उनको उक्साहटमा नलागेको भए परिस्थिति अर्कै हुन्थ्यो होला । अहिले ती जोनसोन कहाँ छन् र हामी कहाँ छौं त ?

    केही मानिसहरूले युद्ध अन्त्यका लागि रूसको धारणा के हो भनेर बारम्बार सोधिरहेका छन् । हामी त सधैं सम्झौताकै पक्षमा छौं । यसका लागि हामीले इस्तानबुलमा नै कदम चालेका थियौं । तर युक्रेनले के कारणले रूससँग कुनै सम्झौता नगर्ने संकल्प प्रस्ताव संसदबाट तयार गर्‍यो, हामीले बुझेका छैनौं । युक्रेनको उक्त प्रस्ताव फिर्ता नभएसम्म वार्ताको कुनै संभावना छैन । – अनलाइन सञ्चारमाध्यमको सहयोगमा

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार