बुवा

बुवा

प्रदिप घिमिरे 'अमूल्य'
  • मंगलबार, भाद्र २२ २०७८

  • 5.1K
    SHARES

    बुवा

    समयको परिवर्तनसँगै ‘बुवा’ शब्दलाई आ–आफ्नै तरिकाबाट परिभाषित गर्न थालिएको छ । संस्कृतमा ‘बुवा’लाई पितृ देवो भव भनिन्छ । हामी जहाँ छौं, जहाँ हाम्रो अस्तित्व रहेको छ, जहाँ हामी हुनुको अनुभूति रहन्छ, ती हरेक स्थानहरुमा बुवा हुनुहुन्छ । त्यसैले त हाम्रो लागि हाम्रो अस्तित्व नै हाम्रा बुवा भन्दा फरक नपर्ला । हाम्रो मान, सम्मान, पद, प्रतिष्ठा, इज्जत अनि सम्पूर्ण जीन्दगी नै बुवामै जोडिएको हुन्छ । विहानीको उदाउँदो घामको उषा किरणझैं चम्किएको बुवाको अनुहार नै हाम्रो लागि हरेक दिनको शुभारम्भ हो ।

    चाहे जुनसुकै धर्म या सम्प्रदायका भएपनि हरेक सन्तानलाई बुवाको उत्तिकै महत्व छ । शायद शब्दले ब्याख्या गर्न सकिन्न, तिनै बुवाहरुको बुढेसकालको बलियो लाठी बन्नलाई हामीमध्ये धेरैले कडा परिश्रम पनि गरिरहेका छौं र गर्नै पर्छ । जे होस आमा बुवानै यस जगतका देख्न सकिने भगवानहरु हुन् । आजका दिन पृथ्वीलोकका सम्पूर्ण पिताहरुलाई स्मृती गर्दै कोटी कोटी नमन गरौं।



    बुवा शब्द आफैमा अर्थपूर्ण शब्द हो । संसारको हरेक कुनामा गएर खोजेता पनि बुवाको अर्थ एउटा सिंगो अनुशासित र संस्कारी परिवारको रूपमा भेटिन्छ । बुवा घरको जग हो, परिवारको उज्ज्यालो हो । जसलाई दिन मात्र आउँछ , सन्तानबाट कहिल्यै लिन आउँदैन ।

    हिन्दू धर्मशास्त्र अनुसार आज कुशे औंशी । ‘कुशे औंशी’लाई बुवाको मुख हेर्ने दिन पनि भन्ने गरिन्छ । आजको दिन बुवालाई उपहार साथै विभिन्न प्रकारका मिष्ठान्न भोजन गराएर बुवाबाट आशीर्वाद ग्रहण गर्ने प्रचलन रही आएको छ ।

    हिजोआज बुवाका तस्वीरहरु फेसबुकलगायत विभिन्न सामाजाकि सञ्जलका भित्ताहरुमा टाँस्दै ‘ह्यापी फादर्स डे’ भन्नेहरु धेरै देखिँन थालेका छन् । त्यसैले त आज सामाजिक सञ्जालका भित्ताहरु बुवामय भएका् छन् ।

    हिजोआज धेरै बुवाहरु सन्तानविहीन झैं भएर बस्न बाध्य भएका छन् । आज ह्यापी फादर्स डे भन्दै बुवाका बत्तिस मुजा परेका गालामा चुम्बन गर्नेहरुले भोलिका दिन तिनै बुवालाई बिरानो शहरका देवालय, शिवालय, मठमन्दिर, पाटीपौवा, सडक पेटी र वृद्धाश्रममा पु¥याएर छाडेको कतै पनि देख्न सुन्न नपरोस् । आज फदर्स डे भन्दै बुवाका गालामा चुम्बन गर्नेहरुलाई भोली त्यही बुढो बुवाको श्वास नगनाओस् ।

    ममतामयी आमालाई यस पृथ्वीको संज्ञा दिइन्छ भने बुवालाई गगनको संज्ञा दिइन्छ । यस संसारमा बुवालाई साक्षात् भगवानको उपमा दिइने गरिन्छ । हाम्रो लागि पनि बुवा साक्षात् भगवान्, अनि हामी उहाँको भक्त । बस् हामी उहाँको अनुसरण गर्दै बाँचौं अनन्तकालसम्म ।

    बुढो बुवाको सयौं ठाउँमा चाहुरीएको अनुहारमा मोती झैं टल्किएका दाँतका पंतिहरु, त्यही बत्तिस मुझा परेर चाहुरीएको बुवाको मुहारमा खुसी ल्याउने हाम्रो संकल्प, त्यही संकल्प पूरा गर्ने हाम्रो अठौट अनवरत रुपमा अगाडि बढिरहोस् । हाम्रा यी अगाडी बढ्दै गरेका पाइलाहरु बुवाको प्रेरणादायी ती हातहरु नै त हुन् ।

    आफ्नो सन्तानको सुख अनि खुसीको लागि रात दिन मेहनत गर्ने ती दिक्कालजयी हातहरु अनि सन्तानको मायाले भौंतारिएको मन मस्तिष्क सम्झेर गर्व लाग्छ बुवाप्रति । हरेक पल आशाको किरणलाई अँगाल्ने ती ओठहरु, अनि कहिल्यै नथाक्ने ती पाइलाहरुप्रति हाम्रो शिर सँधै झुकिनै रहोस् ।

    बुवाले सन्तानको खुसीको लागि हरेक कठीन समस्याहरुसँग कहिल्यै पनि सम्झौता गर्दैनन् । बुवासँग त्यस्तो प्रकारको साहस हुन्छ जो निष्ठापूर्ण हुन्छ । सन्तानको खुसीको लागि बुवाहरुले अनन्त मृगतृष्णा पनि भुलिदिन्छन् । बुवा आफ्ना सन्तानको सपना साकार पार्न अनवरत रुपमा लागि पर्छन् ।

    बुवा आफ्ना सन्तानको खुसीको निमित्त दिन रात नभनी, सूर्योदय वा सूर्यास्त नभनी, सन्ध्याकाल तथा उषाकाल नभनी, झरी तथा घाम नभनी, जाडो तथा गर्मी नभनी असल सन्तान बनाउने धेयमा अनवरत खटिरहन्छिन् । हिरा त्यतिकै कहाँ अमूल्य बनेको हुन्छ र ? हिरा बन्नको लागि राप, ताप र चाप सहनुपर्छ । पृथ्वीको गर्भमा दबाब सहेर नै हिरा बन्ने हो । गान्धी, आइन्सटाइन, पृथ्वीनाराण, स्टीफन ह्याकिङ, विलगेट, लक्ष्मीप्रसाद देवकोटा, माधवप्रसाद घिमिरे, वीर शहीदहरु सबै संघर्ष गरेरै यस धर्तीमा उदाएका उषाका किरणहरु हुन् ।

    आफ्ना सन्तानको मुहारमा खुसी भर्नको लागि बुवा पहाडी थुम्का, खोरिया, जंगल, डाँडा, काँडा, उकाली, ओराली, भन्ज्याड्ड, चौतारी, लेक, बेसी गर्छन्, निधारमा पसिनाका वर्षा हुन्जेलसम्म ।

    बुवा केवल सन्तानको खुसीको लागि कहिले खेत, कहिले बारी, कहिले जंगल, कहिले वनपात, कहिले ढाक्रे, कहिले घाँसे त कहिले स्याउले त कहिले कार्यालय धाउँछन् । आफ्नो कामप्रति निष्ठापूर्ण तल्लिन रहनछन् । आफ्ना सन्तानहरुको खुसीको लागि हुर्काउने, बढाउने, पढाउने, लेखाउने, खुवाउनेलगायत हर प्रकारका इच्छा–आकांक्षाहरु पूरा गरिदिने तिनै बुवा नै हुन् ।

    आफ्ना सन्तानले दुःख नपाउन भन्ने हरेक बुवाहरुको इच्छाकै कारण उनीहरुलले कहिलेकाँही जायज नाजायज काम पनि गर्न पछि पर्दैनन् । यस संसारमा जो कोही मान्छेले कसैसित पनि हारुँ भन्दैनन्, तर आफ्ना सन्तानको लागि बुवा सँधै हारिरहन्छन्…. हारिरहन्छन् …… हारिरहन्छन्….. । आफ्नो सन्तानको हक अधिकार र उज्वल भविश्यको लागि बुवा हारिरहन्छन् ।

    बुवा यस धर्तीका यस्ता महापुरुष हुन्, जो कसैको ढोका कुर्ने गदैनन्, कसैको दास हुँदैनन्, कसैको चुक्ली गर्दैनन्, कसैको चाप्लुसी गर्दैनन् । बुवा स्वार्थरहित हुन्छन् । त्यसैले त बुवा स्वतन्त्र, विवेकशील र बुद्धिमत्तापूर्ण महायात्रा गर्ने महापुरुष हुन् । बुवाको आफ्नै प्रकारको छुट्टै अस्तित्व छ, छुट्टै पहिचान छ । बुवा यस धर्तीको एउटा अलग धारको व्यक्ति हुन् ।

    हरेक धर्ममा आ–आफ्नै चलन छ तर चलन जेसुकै भएपनि बुवाप्रतिको आदर, सत्कार र सामिप्यताको गुणगान हरेक आयामबाट यस जगतका सम्पूर्ण धर्म, सम्प्रदाय र कोटीले गरेकै छ । हामी आफ्ना बुवाआमाका भौतिक, भावनात्मक, जैविक अनि सपनाका अंशहरुका शिवाय अरुकेही पनि हैनौं, हामीमा बगेको रगत, अडेको संस्कार र गढेका सपनाहरु हाम्रा मातापिताबाट धेरै नै नजिक हुन्छ, ति सपना र सम्भावनाका प्रदायक, जीवनश्रृष्टिकर्ता चराचर जगतका सम्पूर्ण आदर्श बुवाहरुलाई स्मृती ।

    यहाँ राष्ट्रकवि माधवप्रसाद घिमिरेको यस कविता बडो सान्दर्भिक लाग्छ ।
    एक्लो कोमल प्याउली कुसुम यो एकलासमा फुल्न द्यौं
    सन्ध्यामा छलिने कुनै किरण यो कैलाशमा डुल्न द्यौ
    मान्छेबाट न काट दुःख सुखको यौटै पनि यो क्षण
    सारा श्रृष्टि सिंगार्छ इन्द्रधनुको यौटै पनि यो कण ।

    ”खोज्छन् सबै सुख भनी सुख त्यो कहाँ छ र ?
    आफू मिटाई अरुलाई दिनु जहाँ छ ।”

    वास्तवमै हो पनि, जीवन एउटा परीकथा हो । मानिसलाई जीवनले कहिलेकाँही बिजुलीले झैं समय समयमा झट्का दिइरहेको हुन्छ । मान्छे जन्मन्छ मर्छ तर बुवाको प्रेम मर्दैन । प्रेमले मान्छे खुसी हुन्छ । प्रेमले मान्छे सुखी हुन्छ । जसरी बीजमा पूरा वृक्ष विद्यमान छ । त्यसका हाँगा, पात, फलफूल कतै देखिँदैन । बीज तोडेर हेर्दा पनि कतै वृक्ष देखिँदैन ।

    रात नभई दिन हुँदैन । दिन नभई रात हुँदैन । दुःख पछि सुख । सुख पछि दुःख । दिन पछि रात । रात पछि दिन । दुःख नभई सुखको के मूल्य ? सुख नभई दुःखको मूल्य हुँदैन ।

    यो संसार परिवर्तनशील छ । परिवर्तनको पनि नियम छ । यस संसारमा भएका हामी मनुष्य त्यही संसारको सार हौं । यस संसारमा आजसम्म कोही पनि दीर्घजीवि छैन । पृथ्वीको आफ्नै नियम कानून छ । हामीले पृथ्वीको नियम, कानून पालना गर्नै पर्छ । यसमा कसैको विमती नहोला । त्यसैले हिजोआज मानिसहरु बाहिरतिर हेर्छन्, भित्रतिर होइन ।

    आइन्साटाइन भन्छन्–‘जीवनमा सफल हुनु भन्दा, मूल्यवान हुनु बढी महत्व हुन्छ’ यस संसारमा सफल त जो कोही पनि हुन सक्छ, तर मूल्यवान भने जो कोही नहुन सक्छ । सबै सफल त होलान् तर असल भने हुन धेरै कठीन छ । त्यही भएर जसको जीवनको महत्व छ, उसको जीवन सारपूर्ण हुने गर्दछ, जो अरुको लागि बाँचेको हुन्छ । यी कथनहरु जीवनको भित्री पर्दा चिहाउने र परसेवा गर्नेतर्फ आकर्षित छन् । भनिन्छ ‘हरेक परिवारमा मान्छे जन्मिन्छ तर मानवता जन्मिदैन’ ।

    यस्ता छन् बुबा र सन्तानप्रति विश्वका विभिन्न चर्चित व्यक्तित्वहरुका भनाइहरु :

    • जब बुबाले सन्तानलाई केही दिन्छन् तब बुबा र सन्तान दुबै हाँस्छन् । तर जब सन्तानले बुबालाई केही दिन्छन्, तब बुबा र सन्तान दुबै रुन्छन् । – विलियम शेक्सपियर
    • तपाईंको जिवनमा सयौं शिक्षक भन्दा तपाईंको बुबा महान हुनुहुन्छ । – जर्ज हबर्ट
    • बुबा बन्नु भनेको तिमी आफ्नो सन्तानका लागि रोल मोडल बन्नु हो । – वेन रुनी
    • मलाई मेरो बुबाले सपना दिनुभयो त्यही सपनाबाट मैले आफ्नो भविष्य देख्न सकें । – लिजा मित्रेली
    • बुबा बनिसकेपछि व्यक्तिलाई धेरै जिम्मेवारी बोध हुन्छ । तिमीले त्यो भन्दा अगाडी नदेखेका धेरै कुराहरु देख्न थाल्छौ – किड रक
    • मैले जिवनमा भेटेका कुनै पुरुष मेरो बुबाको बराबरीका मलाई लागेनन् । मैले मेरो बुबालाई जति माया अरु कुनै पुरुषलाई गरिनँ । हेडय ल्यामर
    • आमाको माया पाउनका लागि तिमि योग्य हुनुपर्दैन, तर बुबाको माया पाउनका लागि तिमि योग्य बन्नुपर्छ । – रोबर्ट फ्रोस्ट

    बुवाको जीवन एउटा कोलाज जस्तो देखिहरन्छु । बुवाको माया गर्न धर्मले पक्कै बाँधेको छैन्, समयले छेकेको छैन् अनि भूगोलले स्नेह र सम्झनालाई कैद गर्न सक्दैन . बुवाको बारेमा जति लेखे पनि पर्याप्त हुनै सक्दैन । हुन पनि हो । विचार कहिले पो टुंगिन्छ र ? मन उडिरहेको हुन्छ उडिरहेको ।

    (समाजसेवामा सक्रिय लेखक घिमिरे मन्थली नगरपालिका–४ सालु, रामेछापका स्थानीय हुन् ।)

    सम्बन्धित विषय

    अनलाइन नेपालमा प्रकाशित समाचारको बारेमा कुनै प्रतिक्रिया, सुझाव तथा सूचना दिनुपरेमा [email protected] मा पठाउनुहोला । निरन्तर समाचारको लागी हामीसँग फेशबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार