Online Nepal
  • आइतबार, ९ माघ २०७८
  • आमा !

    आमा !

    प्रदिप घिमिरे 'अमूल्य'
  • मंगलबार, २८ बैशाख २०७८
  • 17.5K
    SHARES

    जन्म दिने आमा सबैको प्रिय हुन्छन्, पक्कै पनि यो भनिरहन पर्दैन होला। आमा पृथ्वी हुन्, आमा प्रकृति हुन् । आमालाई माया गर्ने सबै हुन्छन् तर आमालाई अपहेलना र तिरस्कार नगर्नेको पनि कमी छैन यस संसारमा । हामी सानामा भन्थ्यौंं पृथ्वीभन्दा ठूली आमा । नेपोलयिन बोनापर्टले भनेका छन्–‘मलाई असल आमा देऊ, म तिमीलाई असल राष्ट्र दिन्छु ।’ वीपी कोइरालाले भनेका थिए–आमा र राष्ट्र बराबार । हामी भन्ने गर्दछौं–‘जहाँ स्त्रीहरुको सम्मान हुन्छ, त्यहाँ देवताको बास हुन्छ ।’

    आमा जतिञ्जेल हाम्रो अगाडी हुनुहुन्छ त्यतिञ्जेल आमाको महत्वबोध कतिका लागि नहुन पनि सक्छ । तर, जब आमा परलोक जानुहुन्छ, अनि मात्र आमाको महत्व बुझिन्छ । जुन ढिला भइसकेको हुन्छ । हामी हरेक दुःखका क्षणमा आमालाई सम्झन्छौं । आमा शब्दको आफ्नै गरिमा र महिमा रही आएको छ । आमा भन्दा ठूली, आमा भन्दा राम्री कोही छैन संसारमा । हरेककी आमा मेरी आमा, मेरी आमा हरेककी आमा । वास्तवमा आमा, आमा नै हुन् । आमा साक्षात भगवान हुन् । समाजमा आमाको कोही कसैसँग तुलना गर्नै सकिँदैन । संसारमा एक पटक मात्र पाइने कुरा भनेको आमा मात्र हो ।



    यस संसारमा आमा एउटै हुन्छिन्, तर बच्चाहरु धेरै हुन सक्छन् । एउटा सरीर छुट्टिएर दुइ वटा बन्छ त्यो नै आमा र सन्तान हो । आमा सो–सरहको माया–ममता धेरैबाट प्राप्त गर्न सकिएला । तर, आफ्नो आमाको जस्तो शर्तरहित÷स्वार्थरहित वात्सल्य, माया, दया, प्रेम र करुणा अरुबाट पाउन अत्यन्तै कठीन छ । आमाले जस्तो सुकै अवस्थामा पनि जसरी चिलले चल्लालाई झम्टँदा आमाले आफ्नो चल्लाहरुलाई जसरी छोप्छ, आमाले पनि आफ्ना सन्तानलाई आपत÷विपदको घडीमा कुखुराले चल्ला छोपेझैं छोपेर राख्छिन् ।

    नारी प्रेम वात्सल्य र मातृत्वको प्रतिक आमा । आमाले गर्भाधारण गर्छिन्, सन्तान जन्माउँछिन्, आफ्नो काख दिन्छिन् । आमा वात्सल्यकी जीवन्त स्वरुप पनि हुन् । आमाले आफ्नो सन्तानका लागि जस्तोसुकै दुःख, कष्ट, पीडा र वेदनाहरु पनि सहजै सहन सक्छिन् । आमाले आफ्नो सन्तानलाई कोख दिन्छिन्, काख दिन्छिन्, आड दिन्छिन्, भर दिन्छिन्, ढाडस दिन्छिन्, खुवाउँछिन् हुर्काउँछिन्, बढाउँछिन् । असल सन्तान बनाउन रत्तिभर पछि पर्दिनन् ।

    आमा वृक्ष हुन्, सन्तानका लागि शीतल छहारी दिने । आमा विरामी भएको बेला सन्जीवनी बुटी हुन् । आमा वन्दनीय छिन् । आमा पुजनीय छिन् । आमाको हृदय वास्तवमै विशाल सागर हो, अनन्तः विभूत हुने । आमा नचिन्नेहरु अन्धो हुन्छन् । आमा कुनै पनि बालकका लागि देवीको रुपमा आएकी हुन्छिन् । जवानी सकिन्छ, प्रेम टुट्छ, मित्रहरु विलाउँदछन् तर आमाको प्रेम सँधै बाँच्छ । कवी होमर भन्छन्–‘आमा बाहेक अरु अल्लारे पनका प्रतिक । आमा चिन्नै साह्रै गाह्रो छ तर साह्रै सजिलो पनि छ । आमालाई चिन्ने हो भने अन्तर्चक्षु खोल्नुपर्छ । त्रिनेत्र खुल्ला अनि उज्यालो चक्षु ।’

    लिनंक भन्दछन्,–‘म जे छु वा जे चाहन्छु, ती सबैका लागि मेरी परी सरी आमाप्रति कृतज्ञ छु ।’ आमालाई परीको उपमा पनि दिइन्छ । आमा संसारकी बिलय नहुने, जो सँदा सर्वदा अमर रहीरहन्छिन् । कुरा बुझ्ने, कमजोरी सहने, गुण देख्ने, माया प्रेम दिने, सुख दिने, शान्ति दिने, जे पनि गरिदिने, मायाकी खानी, दयाकी प्रतिमूर्ति, संसारकी सबैभन्दा प्यारी आमा हुन् । आमा साँवा अक्षर नचिने पनि वात्शल्य र मातृत्वको अनन्त शब्दकोष हुन् । आमा जसले सन्तानको हर दुःख र पीडा सहज अनुभूत गर्न सक्दछिन् । हो पनि आमाको माया बुझ्न लाखौं कोश यात्रा गर्नु पर्दछ ।

    अरुको हृदयको गहिराई छाम्नको लागि सहिष्णु बन्न सक्नुपर्छ । आमाको माया बुझ्न गम्भीर, सूक्ष्म र संयम हुनुपर्छ । आमाको सहारा, सहायता, विश्वास, सद्भावले नै असल व्यक्ति बन्न सकिन्छ । आमा बिनाको यस संसार अधुरो र अपूर्ण हुन्छ । आमाले हरेक ब्वाँसाहरुबाट बचाउँछिन्, यो रंगिन संसारमा जीउन सिकाउँछिन्, जस्तोसुकै कठिनाइहरुबाट पनि पार लगाउँछिन् । आमाको माया, प्रेम र वात्सल्यबाट पुल तरिन्छ, मुल फुट्छ । आमा आफ्नो सन्तानलाई पार लगाउन लम्पसार पर्न परे पनि पछि हट्दिनन् । आमाले आफ्नो सन्तानको लागि रुखलाई पानी र घामलाई छायाँ दिने गर्छिन् ।

    आफ्नो सन्तानको लागि आमा नौ–नौ महिना गर्भमा बोक्छिन्, जन्माउछिन्, हुर्काउँछिन्, बढाउँछिन्, पढाउँछिन्, सप्रन र माथि उक्लिन अहोरात्र तल्लिन रहने गुण पनि आमासँग मात्र हुन्छ । आमासंग यस्तो शक्ति हुन्छ, दुःखमा शान्ति दिने, आपतमा ढाडस दिने, कमजोरीमा बल दिने गर्छिन् । आमा माया, दया, सहानुभूति र क्षमाकी मुहान हन् । आमा गुमाउनेले पवित्र आत्मा गुमाउँछ । कल्याण चिताउने, संरक्षण गर्ने व्यक्तिबाट टाढा हुन्छ ।
    कवीहरु भन्ने गर्छन–‘आमा भएन भने अरु कविता लेख्न सकिँदैन । आमा तिमी र म, म र तिमी, तिमी पाए सबै बिर्सने । आमाको माया अन्त्य नहुने अन्त्यहीन मायाको श्रृखला, त्यसैले त आमाको त्यागको महिमा अनन्त छ ।’

    आमा हार्छिन, आमा जित्छिन्, आमा सन्तानसँग सँधै हारिदिन्छिन्, तर आमा जब बिछोडिन्छिन् सोच्नेहरु सोच्दछन–उनको अनुपस्थिति सँधै खड्किरहन्छ । आमाको अनुपस्थितमा मुटुभित्र पुष माघको चिसो गडेझैं गडिरहन्छ । कहिले काँही भन्ने गरिन्छ, अनन्त लोककी आमा त्यही लोकमा भेट होला । हो पनि, आमा नियति होइन, कर्म हो । आमा नौनी हो । आमा फलाम हो । आमा पत्थर भित्र हुने बहुमूल्य हीरा हुन् । हामी जब–जब आमा सम्झन्छौं, बोट वृक्षको शालिनता र पवनता आमा मै पाउँछौं । आँसु आमा, हाँसो आमा, खुसीमा आमा, दुःख आमा, सपनामा आमा, विपनामा आमा, कल्पनामा आमा, यथार्थमा आमा, फुलमा आमा, काँडामा आमा । आमाको माया दिएर कहिल्यै सकिँदैन । आमा त्याग र तपस्याले महान छिन् ।

    आमा आँखा हो, आमा मुटु हो, आमा धड्कन हो, आमा सास हो, आमा प्राण हो, आमा जीवन हो, आमा उकाली हो, आमा ओराली हो, आमा उत्साह हो, आमा खिन्नता हो, आमा आँसु हो, आमा हाँसो हो, आमा दुःख हो, आमा सुख हो । जति जति उमेर बढ्दै जान्छ, त्यति त्यति नै आमाको सम्झना आउने गर्दछ ।

    यहाँ नारायण ज्ञावलीको यस कवितालाई सम्झन्छुः
    गरुङ्गो कोखको भारी बनेर महिना दश
    दश धारा चुसी सप्रें तिम्रै हृदयको रस
    ओतप्रोत थियौ पग्लि स्रोत वात्सल्यकी तिमी
    ठिड्डो हिमालझैं अगली सहिष्णु शीलकी तिमी

    आमाले सन्तानको निमित्त दिनरात नभनी, सूर्योदय वा सूर्यास्त नभनी, सन्ध्याकाल तथा उषाकाल नभनी असल सन्तान बनाउन खटिरहन्छिन् । अमूल्य हीरा त्यतिकै कहाँ बनेको हुन्छ र ? हीरा बन्नको लागि राप, ताप र चाप सहनुपर्छ । पृथ्वीको गर्भमा दबाब सहेर नै हीरा बन्ने हो । भुट्टो, इन्दिरा गान्धी, मदर टेरेसा, सीता, थेचर, नाइटिङ्गेल, आङसाङसुकी, हेलेन किलर, म्माडम क्यूरी सबै संघर्ष गरेरै यस धर्तीमा उदाएका उषाका किरणहरु हुन् । आमाको महिमाको बृहत इतिहास छ ।

    आमाहरु शिबको कालकुट विष, सुकरातको हेमलक विष, जिससको झुन्ड्याई यी सबै सहँदै अगाडि बढेका हुन्छन् केवल आफ्ना सन्तानको लागि । हिजो आज हामी बाध्यता अनि स्वार्थका कारण आफ्नी जननीलाई बोझ ठान्दछौं । आमाको मुख हेर्ने दिन, किरिया र श्राद्धमा लोकाचारका लागि सामाजिक सञ्जालका भित्ताहरुमा आमाको तस्वीर टास्ने गछौं, केवल देखावटी मातृत्वको सुख र आनन्दका लागि । आमा कुनै मौलिकतासँग नसाटिने न त तुलना नै हुने वस्तु हुन् ।

    जन्म दिने आमा, आमाको जीवन, आमाको उपस्थिति, आमाको माया आहा कहाँ मान्छेले दीर्घ काल पाउन सक्छौं र ? वास्तवमै आमाको वात्सल्य, आमाको स्नेह मातृत्वका अघि भुलभुलैयामा लाग्नेहरु लिलिपट हौं । हिजोआज मानिसहरु आमा छाडेर बालुवामा सुन साट्नेहरु, घर डढाएर खरानी संगाल्नु जस्तै भएका छन् । संसारमा जे जति सुखहरु छन्, ती सबै सुखहरु आमाको दश घारा दुध र सूर्यको किरणबाट प्राप्त भएका हन् । पशुले पनि आफ्नो सन्तानलाई यतिकै माया गरेको हुन्छ । सन्तान जन्माएको बेला पोथी कुकुरले पनि उसका छाउराछाउरी भएको ठाँउमा कसैलाई जानै दिँदैन । यदि गयो भने अरु बेला नटोक्नेले त्यो बच्चा जन्माएको बेला टोक्न आउँछे । त्यस्तै अरु बेला केही पनि नगर्ने सोझो मानिने पोथी गैंडा बच्चा जन्माएको बेला बच्चा नहुर्केसम्म उसको छेउछाउ मानिस लगायत कुनै पनि पशुपंक्षीहरुलाई छेउ पर्नै दिन्न । बच्चा भएका बेला कागले पनि ठुँग्छ । सारौले पनि ठुँग्छ । कुखुराले पनि झम्टिन्छ । बाँदरले त अझ मरेको बच्चालाई पनि बोकेर हिँड्छ । त्यो मरेको बच्चा गन्हाएर, कुहिएर, टुक्रा–टुक्रा भई नझरुञ्जेल छातीमा टाँसेर हिनीरहेकी हुन्छे । किनकी आमालाई सन्तानको माया छ । करुणा छ । स्नेह छ । जुनसुकै पशुपंक्षीका आमाले सन्तानलाई असाध्यै माया गरेकी हुन्छे । आमाको माया कति निश्वार्थ ? छ । आमालाई सन्तान प्रतिको कत्रो प्रेम ? पशुत्वमा पनि कत्रो माया ? कत्रो करुणा ? कत्रो वात्सल्य ? कत्रो स्नेह ? वा वा ……….।

    हेनरी वार्ड ब्रेचर भन्छन्–‘मेरो बाबु नुनु गर भन्दै गाउने लोरी कोक्रोबाट शुरु भई चिहानसम्म पनि गुञ्जायमान हुन्छ । यो संसारमा आजसम्म कोही पनि दीर्घजीवि छैन । त्यसैले मानिसहरु बाहिरतिर हेर्छन्, भित्रतिर होइन । अल्वर्ट आइन्साटाइनले भनेका छन्, ‘जीवनमा सफल हुनुभन्दा मूल्यवान हुनु बढी महत्व हुन्छ ।’ संसारमा सफल त जो पनि हुन सक्छ तर मूल्यवान भने जो कोही नहुन सक्छ । आमा बिना सबै सफल होलान्, सक्षम पनि होलान् तर असल हुन भने कठीन छ । त्यही भएर जसको जीवनको महत्व छ, उसको जीवन सारपूर्ण हुने गर्दछ, जो अरुको लागि बाँचेको हुन्छ । यी कथनहरु जीवनको भित्री चिहाउने र परसेवा गर्नेतर्फ आकर्षित छन् ।

    खोज्जन् सबै सुख भनी सुख त्यो कहाँ छ ?
    आफू मिटाई अरुलाई दिनु जहाँ छ ।

    जर्ज फ्रेडरिक सिलर भन्छन्, ‘संसारभरी भौतारिँदै हिँडे, आमाको जस्तो विशाल ह्दय कहिँ सकैको पनि पाइनँ । जर्ज वासिङ्टन भन्छन्–‘मेरी आमाबाट मैले सम्पूर्ण सफलता पाएको नैतिकता आध्यात्मिकतातर्फ शिक्षाको उपज हो । जर्ज एलिएट भन्छन्, ‘आमा नै दुनियाँमा हाम्री सच्चा साथी हुन् । वासिङ्टन् एभिट भन्छन्, ‘सुख, शान्ति ल्याउन प्रयत्न गर्ने आमा सम्पूर्ण संसारमा एक हुन्छिन् । अब्राहम लिड्ढन भन्छन्, ‘म एकछिन आमातर्फ फर्किन्छु, विश्वमा महिमाशाली आमाबारे विशिष्ट व्यक्तिको कथन । उसैको भाग्य धेरै ठूलो हुन्छ जस्ले लामो समयसम्म आमाको वात्सल्य, माया, प्रेम, स्नेह, करुणा पाउँछ । आजसम्म म जे जस्तो छु वा बन्ने आशा राख्दछु र बन्ने कोशिस गरिरहेको छु मेरी ममतामयी आमाको कारणले छु ।

    सम्बन्धित विषय
    प्रतिक्रिया
    नयाँ अपडेट
    अन्य समाचार