Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • तालिबानहरुले घर-घरमा गएर तलासी लिइरहेका छन् : संयुक्त राष्ट्रसङ्घ

    तालिबानहरुले घर-घरमा गएर तलासी लिइरहेका छन् : संयुक्त राष्ट्रसङ्घ

    अनलाइन नेपाल
  • शुक्रबार, ४ भाद्र २०७८
  • 4.5K
    SHARES

    एजेन्सी । संयुक्त राष्ट्रसङ्घको एउटा दस्तावेजमा तालिबानले नेटो फौज र पूर्ववर्ती अफगान सरकारका लागि काम गरेका मानिसहरूको खोजी कार्यलाई तीव्र बनाएको चेतावनी दिइएको छ।

    उक्त दस्तावेजमा तालिबानले घरघरै गएर त्यस्ता व्यक्तिहरूको खोजतलास गरेको र उनीहरूका परिवारका सदस्यहरूलाई धम्क्याएको उल्लेख छ।



    उक्त कट्टरपन्थी इस्लामवादी समूहले शक्ति हातमा लिएपछि अफगानहरूलाई कुनै पनि बदला नलिने भन्दै आश्वस्त पार्ने कोसिस गरेको थियो। तर अहिले पनि सन् १९९० ताकाको तालिबानमा सामान्य मात्र परिवर्तन आएको जस्तो देखिएकाले त्रास पैदा भएको छ।



    तालिबानले विदेशी फौज र पूर्ववर्ती सरकारका “सहयोगीहरू”लाई तारो बनाएको भन्ने चेतावनी राष्ट्रसङ्घका लागि गोप्य सूचना सङ्कलन गर्ने आरएचआईपीटीओ (रिप्टो) नर्वेजियन सेन्टर फर ग्लोबल एनालाइसिसको एउटा अति गोप्य दस्तावेजमा दिइएको हो।

    “तालिबानद्वारा तारो बनाइएका व्यक्तिहरू अहिले उच्च सङ्ख्यामा रहेका छन् र तिनलाई धम्की दिइएको कुरा स्पष्ट छ,” उक्त प्रतिवेदन बनाउने समूहको नेतृत्व गर्ने क्रिश्चियन नेलेमेनले बीबीसीसँग भने। उनले तालिबानको सूचीमा रहेकाहरू एकदमै धेरै खतरामा रहेको र अफगानिस्तानमा आमहत्या हुनसक्ने चेतावनी पनि दिएका छन्।

    अफगानिस्तानमा अन्य घटनाक्रम के भइरहेका छन्:

    अफगानिस्तानका कतिपय सहरहरूमा तालिबानविरोधी प्रदर्शन भएका छन्। राजधानी काबुलमा प्रदर्शनकारीले अफगानिस्तानको राष्ट्रिय ध्वजा लिएर प्रदर्शन गरेका छन्। असादाबादमा चाहिँ प्रदर्शनकारीहरूमध्ये केही मारिएको खबर छ।

    अमेरिकी जहाजमा झुण्डिएर जान खोज्ने र खसेर निधन हुनेमध्ये एकजनाको पहिचान भएको छ। उनी १९ वर्षीय जाकी अन्वारी रहेका छन्। उनले अफगानिस्तानको राष्ट्रिय युवा फुटबल टीमबाट खेलेका थिए।

    विदेशी शक्तिहरूले अफगानिस्तानबाट आफ्ना नागरिकलाई फिर्ता गर्ने कार्यलाई निरन्तरता दिएका छन्। अमेरिकाले अगस्त १४ यता ७ हजार जनालाई उद्धार गरेको जनाएको छ।

    काबुल विमानस्थल बाहिर अवस्था अस्तव्यस्त नै रहेको छ। तालिबानले भाग्न खोज्ने अफगानहरूलाई रोकिरहेको छ। एउटा भिडिओमा एउटा बालकलाई अमेरिकी सैनिकलाई सुम्पिदैँ गरेको देखिएको छ।

    तालिबानले अमेरिकामा निर्मित हजारौँ बख्तरबन्द गाडीहरू नियन्त्रणमा लिएको छ। त्यस्तै उसले ३० देखि ४० वटासम्म जहाज र ठूलो मात्रामा साना हतियारहरू पनि नियन्त्रणमा लिएको अमेरिकी अधिकारीहरूले रोयटर्सलाई बताएका छन्।

    तालिबानले गत आइतवार काबुल कब्जा गरेको थियो। उसले विदेशी सेनाले देश छाडेपछि अफगानिस्तानभरि नियन्त्रण कायम गर्न थालेको थियो।

    उक्त विजयले उनीहरूलाई २० वर्षपछि पुन: अफगान शक्तिको केन्द्रमा ल्याइदिएको छ। २० वर्षअघि अमेरिकी नेतृत्वको फौजले उक्त समूहलाई सत्ताच्यूत गराइदिएको थियो। पहिले शक्तिमा रहँदा तालिबानले सार्वजनिक स्थलमा मृत्युदण्ड दिने र महिलाहरूलाई पढ्न तथा काम गर्न नदिनेजस्ता गतिविधि गरेको थियो।

    तर यसपटक काबुलमा नियन्त्रणपछिको पहिलो पत्रकार सम्मेलनमा तालिबानका प्रवक्ताले इस्लामिक कानुन अन्तर्गत नै महिलाको अधिकारलाई सम्मान गर्ने बताएका थिए।

    तालिबानले आन्तरिक र बाह्य कुनै पनि शत्रु नचाहेको बताएको छ। त्यस्तै उसले विदेशी शक्ति र पूर्ववर्ती सरकारमा रहेर काम गरेका सबैलाई आममाफी दिने बताइसकेको छ। तर अन्तर्राष्ट्रिय शक्ति र कैयौँ अफगानहरू अहिले पनि तालिबानमाथि शङ्का गरिरहेका छन्। बीबीसी नेपाली

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार