Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • भारत: बिहारमा ६० फुट लामो ५०० टनको फलामको पुल चोरी

    भारत: बिहारमा ६० फुट लामो ५०० टनको फलामको पुल चोरी

    अनलाइन नेपाल
  • आइतबार, २७ चैत्र २०७८
  • 1.3K
    SHARES

    एजेन्सी । भारतको बिहारको सासाराम जिल्लामा ६० फुट लामो एउटा फलामको पुल चोरी भएको छ।

    समाचार संस्था पीटीआईले प्रहरीलाई उद्धृत गर्दै आफूलाई सरकारी अधिकारी बताउने केही व्यक्तिहरूले यो चोरी गरेको जनाएको छ।



    उक्त पुलको वजन ५०० टन रहेको थियो र त्यसको निर्माण सन् १९७२ मा गरिएको थियो।



    न्यूज एजेन्सी एएनआईसँग कुरा गर्दै सासारामका प्रहरी उपरीक्षक आशीष भारतीले भने, “त्यो पुल सिँचाई विभागको थियो र त्यो उपयोगमा आएको थिएन।”

    “उनीहरूले आफूहरू सिँचाई विभागबाट आएको र पुललाई लिएर जान लागेको बताएका थिए। त्यही भएर गाउँका मानिसहरूले यसबारे सूचना दिएनन्।”

    भारतीले उजुरी दर्ता गराएर अनुसन्धान थालिएको बताए।

    त्यसबाहेक जिल्लामा त्यस्ता सामानहरूको किनबेच गर्ने विक्रेताहरूलाई यसबारेमा सचेत गराइएको बताए।

    बिहार विधानसभामा विपक्षका नेता रहेका तेजस्वी यादवले यस विषयमा नितिश कुमारको सरकारप्रति आक्रोश व्यक्त गरेका छन्।

    उनले ट्विटरमा लेखेका छन्, “४५ वर्ष पुरानो ५०० टन पुललाई १७ वर्षको भाजपा-नीतिश सरकारले दिनदहाडै लुटाइदियो।”

    “चोर ग्यास कटर, जेसीबी र सयौँ मजदुरहरूसँगै आए र पुललाई उखालेर लिएर गए। चोर जनादेश चोरीबाट बनेको एनडीए सरकारबाट प्रेरित छन्।”

    भारतीय अनलाइन द प्रिन्टका अनुसार बिहारको अमियावार गाउँमा पर्ने अर्राह नहरमाथि बनेको उक्त पुल खतरनाक घोषणा गरिएपछि प्रयोगमा आउन छाडेको थियो।

    स्थानीय बासिन्दाहरूले नजिकै बनाइएको पक्की पुल प्रयोग गर्दै आएका थिए।

    पुल चोरिएपछि सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले त्यसलाई ‘अविश्वसनीय डकैती’ को संज्ञा दिएका छन्।

    एक जना सामाजिक सञ्जाल प्रयोगकर्ताले यसलाई ‘बिहार पुल डकैती’ भन्दै त्यो नेटफ्लिक्सका लागि नयाँ सिरिज बनाउन रोमाञ्चक शीर्षक हुने टिप्पणी गरेको द प्रिन्टले प्रकाशित गरेको समाचारमा जनाइएको छ। साभार बीबीसी नेपालीबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार