Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • एमसीसीबारे अमेरिकी प्रस्तावित राजदूतको अभिव्यक्तिप्रति चीनको आपत्ति

    एमसीसीबारे अमेरिकी प्रस्तावित राजदूतको अभिव्यक्तिप्रति चीनको आपत्ति

    अनलाइन नेपाल
  • शुक्रबार, ३१ असार २०७९
  • 975
    SHARES

    काठमाडौं । चीनले नेपालका लागि अमेरिकी प्रस्तावित राजदूत डिन थम्प्सनले संसदीय सुनुवाइका क्रममा दिएको अभिव्यक्तिको खण्डन गरेको छ ।

    नेपालस्थित चिनियाँ दूतावासकी प्रवक्ता गाओ वेईले शुक्रबार थम्प्सनको भनाइको खण्डन गरेकी हुन् ।



    बुधबार सुनुवाइका क्रममा थम्प्सनले चीनको दुष्प्रचारका बाबजुद नेपाली संसद्बाट मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदन भएको बताएका थिए ।



    चिनियाँ दूतावासले उल्टो अमेरिकाले दुष्प्रचार गरेको बताएको छ । एमसीसी सम्झौताले नेपालमा व्यापक विवाद उत्पन्न भएको कुरा उल्लेख गर्दै प्रवक्ता वेईले नेपाली संसद्बाट ‘व्याख्यात्मक घोषणा’सहित अनुमोदन भएको पनि बताएकी छिन् । उक्त घोषणामा नेपाल अमेरिकाको रणनीतिक, सैन्य र सुरक्षा गठबन्धनमा सहभागी नहुने कुरा उल्लेख भएको जनाउँदै दूतावासले उक्त कार्यलाई नेपालको वैधानिक कदमको संज्ञा दिएको छ ।

    दूतावासकी प्रवक्ताको टिप्पणीमा भनिएको छ, ‘राष्ट्रिय हितलाई सुरक्षित गर्दै सार्वभौमिकता तथा स्वतन्त्रताको रक्षा गर्ने नेपाल सरकार र नेपाली जनताको वैधानिक कदम हो । अमेरिकी पक्षबाट आएको टिप्पणी पूर्ण रूपमा आधारहीन छ । उनीहरूले चीनको बद्नाम गर्ने प्रयास मात्रै गरेका छैनन्, नेपाल र नेपाली जनताको अपमानसमेत गरेका छन् ।’ वास्तविक रूपमा अमेरिकी कदमचाहिँ ‘दुष्प्रचार’ भएको चीनको टिप्पणी छ ।

    निकट मित्रराष्ट्रका हिसाबले चीनले नेपालको सामाजिक आर्थिक विकासका लागि निरन्तर सहयोग गर्ने पनि दूतावासले बताएको छ । ‘नेपालको राष्ट्रिय हित, सार्वभौमिकता र स्वतन्त्रताको सुरक्षाका लागि’ चीनले निरन्तर सहयोग गर्ने पनि प्रवक्ता वेईले जनाएकी छिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार