Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • यी २० उम्मेदवार, जो ३० हजारभन्दा बढी मत पाएर पनि चुनाव हारे

    यी २० उम्मेदवार, जो ३० हजारभन्दा बढी मत पाएर पनि चुनाव हारे

    अनलाइन नेपाल
  • शनिबार, १७ मंसिर २०७९
  • 915
    SHARES

    काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ मा २० जना उम्मेदवार ३० हजारभन्दा बढी मत प्राप्त गरेर पनि हारेका छन्। जसमा नेपाली कांग्रेसका आठ, नेकपा एमालेका सात, नेकपा माओवादी केन्द्रका तीन, नेकपा एकीकृत समाजवादीका एक र राष्ट्रिय जनमोर्चाका एक उम्मेदवार ३० हजारभन्दा बढी मत प्राप्त गर्दा पनि हार्नुपरेको हो ।

    प्रदेश नं १ बाट पाँचथर–१ मा नेपाली कांग्रेसका भीष्मराज आङदेम्वेले ३२ हजार ८९ मत प्राप्त गरे पनि ४६ मतान्तरले हारे। कांग्रेसकै कृष्णप्रसाद सिटौला पनि झापा–३ मा ३७ हजार तीन सय ८६ मत प्राप्त गर्दा पनि हारे।



    मोरङ–२ मा कांग्रेसकी सुजाता कोइराला ३१ हजार नौ सय ४०, सुनसरी–३ मा कांग्रेसका विजयकुमार गच्छदार ३५ हजार छ सय, सुनसरी–४ मा नेकपा एमालेका जगदीशप्रसाद कुसियैत ३० हजार तीन सय ७१ मत प्राप्त गरे पनि विजयी हुन सकेनन्। त्यस्तै मधेस प्रदेशबाट सर्लाही–३ मा नेकपा माओवादी केन्द्रका नरेन्द्र साह कलवारले ३२ हजार एक सय ६८ र बारा–१ मा कांग्रेसका उमाकान्त चौधरीले ३० हजार ५६ मत प्राप्त हुँदा पनि हारे।



    बागमती प्रदेशमा रामेछाप–१ मा एमालेका कैलाशप्रसाद ढुङ्गेलले ३० हजार सात सय ३० मत, काभ्रेपलाञ्चोक–१ मा एमालेका रेशमबहादुर लामाले ३० हजार पाँच सय ४८ मत, काभ्रेपलाञ्चोक–२ मा कांग्रेसका शिवप्रसाद हुमागाईँले ३९ हजार चार सय ८२ मत, मकवानपुर–२ मा नेकपा एकीकृत समाजवादीका विरोध खतिवडाले ३० हजार चार सय ३२ मत प्राप्त भएर पनि हारे।

    गण्डकी प्रदेशबाट लमजुङ–१ मा माओवादी केन्द्रका देवप्रसाद गुरुङलाई ३१ हजार सात सय ९१ मत, नवलपरासी बर्दघाट सुस्तापूर्व–२ मा एमालेका तिलबहादुर महत क्षेत्रीलाई ३४ हजार एक सय १० मत पाएर पनि हार बेहोर्नुर्‍यो।

    यस्तै लुम्बिनी प्रदेशबाट गुल्मी–१ मा एमालेका प्रदीपकुमार ज्ञवालीले ३२ हजार एक सय ५२ मत, अर्घाखाँची–१ मा कांग्रेसकी पुष्पा भुसालले (गौतम) ४० हजार नौ सय ४५ मत, रुपन्देही–३ मा कांगे्रसका बालकृष्ण खाँणले ३४ हजार ३६, कपिलवस्तु–२ मा एमालेका बृजेशकुमार गुप्तले ३८ हजार छ सय ९७ मत, प्यूठान–१ मा राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेलले ३५ हजार आठ सय १४ मत प्राप्त भए पनि हारे।

    कर्णाली प्रदेशमा सुर्खेत–१ मा एमालेका धुव्रकुमार शाही ३० हजार नौ सय ८८ मत पाएर पनि हारे। सुदूरपश्चिम प्रदेशमा बैतडी–१ मा माओवादी केन्द्रका नरेन्द्रबहादुर कुँवर ३२ हजार ८० मत पाएर पनि हारेको निर्वाचन आयोगले जनाएको छ। रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार