Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • सहरी विकास मन्त्रीलाई गुमराहमा राख्दै सचिवको असुलीधन्दा, डिभिजन प्रमुख सरुवामा आर्थिक चलखेल

    सहरी विकास मन्त्रीलाई गुमराहमा राख्दै सचिवको असुलीधन्दा, डिभिजन प्रमुख सरुवामा आर्थिक चलखेल

    अनलाइन नेपाल
  • आइतबार, २६ चैत्र २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । सहरी विकास मन्त्राललयका सचिव सुरेश आचार्यले मन्त्री नियुक्ति हुनुअघि नै सहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशक परिवर्तन गर्न खोजेका थिए ।

    विभागको महानिर्देशकमा कुमार घिमिरेलाई ल्याउनका लागि अर्का सहसचिव रविन्द्र बोहरा मार्फत्् करोडौंको डिल गरेका सचिव आचार्यको योजना अनलाइन नेपालले सार्वजनिक गरेपछि उनी डीजी फेर्ने निर्णयबाट पछि हटे । महानिर्देशक हटाउन नसके पनि सचिव आचार्यले मन्त्री नियुक्ति हुनु पूर्वसन्ध्यामा दररेट अनुसार असुल्दै डिभिजन प्रमुखहरु परिवर्तन गरेका छन् ।



    बालुवाटारमा गंगा दाहाललाई समेत प्रभावमा पारी डीजी फेर्ने सचिवको योजनामा बोहराले भरपूर साथ दिएका थिए । हालका डीजी सुरेन्द्रमोहन श्रेष्ठबाट निहीत स्वार्थ पूरा नहुने देखेका बोहराले घिमिरेलाई ल्याएर विभागका सबै सेटिङ गर्ने रणनीति अन्तर्गत मन्त्री नियुक्तिपूर्व नै उनलाई हटाउन खोजेका थिए । तर अनलाइन नेपालले सचिव आचार्य र बोहराको योजना छताछुल्ल पारेपछि आचार्यको उक्त योजना तुहिएको छ ।
    गंगा दाहालसँग मिलेर महानिर्देशक परिवर्तन गर्ने १० करोडको योजना तुहिए पनि सचिव आचार्यले १० वटा भन्दा बढी डिभिजन कार्यालयका प्रमुख परिवर्तन गरी २ करोड संकलन गरेको स्रोतको दाबी छ ।



    स्रोतका अनुसार एउटा डिभिजन प्रमुखको २५ लाख रुपैयाँसम्म मोलतोलका आधारमा सरुवा गरिएको छ । झापा, जनकपुर, बीरगंज, चितवन, रामेछाप, दाङ लगायतका डिभिजन प्रमुखहरु परिवर्तन गरिएको छ । डीई प्रदीप खनाललाई जनकपुरबाट रामेछाप सरुवा गरिएको छ । झापामा रुपक आचार्यको पदस्थापन गरिएको छ । आचार्यले पनि सचिवलाई २५ लाख बुझाएर हाजिर भइसकेको सहरी विकास विभागका एक इन्जीनीयरले बताए ।
    बीरगंजका झपड थापालाई चितवनमा लगिएको छ । सचिव आचार्यले सरुवामा दररेट बुझाउनेलाई आकर्षकबाट झन् अर्को डिभिजन प्रमुखमा लगेका छन् भन्ने दृष्टान्त थापा हुन् । कास्कीबाट बीरगंज र त्यसपछि अझ राम्रो चितवन आउन थापाले सचिवलाई मागे जति बुझाएको स्रोतको दाबी छ ।
    चितवनका प्रकाश अर्याललाई भवन विभागमा हुत्याइएको छ । रामेछापका सुरेश वाग्लेलाई मन्त्रालय ल्याइएको छ । मन्त्रालयका राजेन्द्र खतिवडालाई विभागमा थन्क्याइएको छ । कसैलाई लगातार ३ वडा डिभिजन प्रमुखमा लगिएको छ भने कसैलाई विभागबाट मन्त्रालय र मन्त्रालयबाट बिभाग लगिएको छ ।
    दाङ डिभिजनमा झापाकै जति असुलेर खड्ग चौधरीलाई पठाइएको थियो । दाङका सुमन मिश्रलाई विभाग तानिएको थियो । तर पूर्व सहरी विकास मन्त्री मेटमणि चौधरीको दबाबमा सचिवले सुमन मिश्रलाई नै थमौती गर्न बाध्य भएका छन् ।

    खड्ग चौधरीलाई गएको मंसिर ४ को चुनावअघि मन्त्रीलाई दाङमा सहयोग नगरेपछि उनलाई तानिएको थियो । मन्त्री चौधरीको खर्चपर्च नब्यहोरेपछि उनलाई मन्त्रालय तानी मिश्रलाई पठाइएको थियो ।

    मिश्र पनि सहरी विकासमा नियम कानुन सबै कुल्चेर पैसा कमाउन जे पनि गर्न सक्ने भनेर चिनिन्छन् । सचिव आचार्यले अहिले पनि सहरी विकास मन्त्री सीता गुरुङलाई गुमराहमा राखी भित्रभित्रै सेटिङ चलाएपछि उनी रुष्ट भएकी छन् । र, सचिवका गतिबिधिलाई उनले सुक्ष्म ढंगले नियालीरहेको र उनको विकल्पमा अर्को सचिवको खोजी समेत गरिरहेको स्रोतले बताएको छ ।

    सहरी विकास मन्त्रालय अन्तर्गतका डिभिजन प्रमुखहरूको सरुवामा भएका आर्थिक चलखेलका बारेमा मन्त्रालयका सचिव सुरेश आचार्यसँग प्रतिक्रिया लिन खोज्दा उनीसँग सम्पर्क हुन सकेन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार