Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • बुढानीलकण्ठ नगरपालिकाका मेयर निरीह, उपमेयरको वितण्डा रोक्न असफल

    बुढानीलकण्ठ नगरपालिकाका मेयर निरीह, उपमेयरको वितण्डा रोक्न असफल

    अनलाइन नेपाल
  • सोमबार, २७ चैत्र २०७९
  • 1.9K
    SHARES

    काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाका उपमेयर अनिता लामाको वितण्डाले सीमा नाघ्दै गएको छ । मेयर मीठाराम अधिकारीमा त्यति आधुनिक शिक्षा र प्रविधिको ज्ञान नभएको लाभ लामाले लिइरहेकी छन् । पछिल्ला दिनमा एक किसिमले नगरपालिका उपमेयर लामाकै हैकममा चल्दै आएको छ ।

    यत्तिसम्मकी कुनै पनि पर्व मनाउनका लागि नगरपालिकाबाट आर्थिक सहयोग गर्ने प्रचलन नै छैन । तर उपमेयर लामाको दबाबमा ग्याल्बो ल्होसार पर्व मनाउन १५ लाख रुपैयाँ छुट्टायो । र, ल्होसार पनि गएको फागुन ९ गते सम्पन्न भइसकेको छ । सामान्य ढंगले गरिएको उक्त कार्यक्रमको भुक्तानीका लागि अहिले लामाले चर्को दबाब दिंदै आएकी छन् ।



    आफ्नै पहलमा बजेट विनियोजन र कार्यक्रम सम्पन्न भएपछि भुक्तानीका लागि तारनतार दबाब दिँदा पनि यसअघिका प्रमुख प्रशासकीय अधिकृत भुवनेश्वर लामिछानेले टार्दै आए । उनी हाल सरुवा भएर सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा पुगिसकेका छन् । कार्यक्रममा सहभागी हुनेले पनि उक्त कार्यक्रममा एकाध लाख भन्दा बढी खर्च नभएको तर बिल भने १० लाख भन्दा बढीको पेस गरिएपछि आश्चर्य प्रकट गरेका छन् ।



    खर्च भए जतिको बिल दाबी गर्नु स्वाभाविक भए पनि दस गुणा भन्दा बढीको बिल आएपछि प्रमुख प्रशासकीय अधिकृत लामिछानेले भुक्तानी गर्न आँट गर्न नसकी बुधबारै रमाना बुझेर गइसकेका छन् । बुधबारै नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा तुल्सीराम अर्यालले बहाली गरिसकेका छन् । बहाली गर्नासाथ उनका अगाडि पनि उपमेयर लामाले उही बिल भुक्तानीका लागि दबाब दिन सुरु गरिसकेकी छन् ।

    यति लामो समयसम्म भुक्तानी नभएको बिल आफू बहालीसँगै पेस भएपछि उनी पनि तर्किरहेका छन् । एउटा ल्होसार पर्व मनाउन १५ लाखका दरले रकम दिने हो भने उक्त नगरभित्र सबै जातजातिले आ आफ्ना पालिकासँग अनुदान मागे भने के गर्ने ? नयाँ प्रमुख प्रशासकीय अधिकृत अर्यालसामु यो प्रश्न तेर्सिएको छ । नगर प्रमुख नै मै हुँ भनेजस्तो व्यवहार गर्ने उपमेयर लामाले कर्मचारीहरूलाई जातीय आधारमा विभेद गर्ने गरेको आरोप छ ।

    पालिकाभित्र जातीय र पार्टीगत कुरा उठाएर नगरप्रमुखलाई समेत अप्ठेरोमा पार्ने काम लामाबाट हुँदै आएको छ । मेयरको काममा अनावश्यक हस्तक्षेप गर्दै आएकी उपमेयर लामा न्यायिक समितिको संयोजक हुन् । उनको मूल काम भनेको न्यायिक समितिको संयोजक भएर मुद्दा छिन्ने र योजना अनुगमन गर्ने हो । तर, निर्वाचित भएको १० महिना बितिसक्दा पनि उनले एउटा मुद्दा पनि नछिनेको अभिलेख हेरे स्पष्ट हुने एक वडाध्यक्षले बताए ।

    अहिले पालिकामा १ सय ५० भन्दा बढी उजुरीहरू न्यायिक समितिको फैसलाको पर्खाइमा छन् । तर, उपमेयर लामाले भने ती उजुरी अध्ययन गरी फैसला गर्नुको साटो जता जता आर्थिक स्वार्थ पूरा हुन्छ त्यतैका काममा बढी ध्यान दिने गरेको आरोप छ । मुद्दा मामिला छिन्नेभन्दा कानुनको पुण्य काफ्लेमार्फत बाटाघाटा र चोक चौतारामै मुद्दाका वादी प्रतिवादीसँग डिल गर्ने र जसबाट बढी लाभ हुन्छ उसको पक्षमा मौखिक न्याय दिने गरेको आरोप छ ।

    न्यायिक सिद्धान्त भन्दा बाहिर गएर उपमेयर र काफ्लेले उजुरीहरू आर्थिक लाभ लिएर पालिकाबाहिरै फैसला गर्न थालेपछि उजुरीकर्ताहरु पनि नगरपालिकामा गएमा न्याय पाइने कुरामा शंका गर्न थालेका छन् । नगरपालिकाका अन्य काममा उपमेयरको बिचौलियाका रूपमा न्यायिक समितिका अधिकृत छैटौँ वासुदेव मल्ल र वातावरण शाखाका विनोद पाठकले भूमिका खेलिरहेका छन् ।

    उनीहरूले मेयरले कुन काममा के कस्तो लाभ लिएका छन् भनेर उपमेयरलाई सूचना दिने र उपमेयरको पक्षमा काम नगर्ने कर्मचारीहरूको विपक्षमा कुरा लगाउने गर्दै आएको आरोप छ । मेयर र उपमेयर नगरभित्रका साझा पद हुन् । नगरवासी सबै पार्टीप्रति आस्था राख्ने नराख्ने जनताका पनि जनप्रतिनिधि हुन् । तर, उपमेयर लामाले भने एमालेको कार्यकर्ताको जस्तो भएर अन्य आस्था राख्ने नगरबासीप्रति पूर्वाग्रहपूर्ण व्यवहार प्रदर्शन गरेको गुनासो छ ।

    २०७९ चैत १८ गते शनिबार आयोजित स्वास्थ्य स्वयंसेविकाहरूको भेला कार्यक्रममा उपमेयर लामाले एमालेको समर्थन गर्नेबाहेकका कर्मचारीहरू पालिकाभित्र टिक्नै नदिने चेतावनी दिएपछि कर्मचारीहरू रुष्ट भएका छन् । यस्तै हो भने नगरभित्र उपमेयर बहिस्कार अभियानसम्म चलाउनुपर्ने अवस्था आउन सक्ने नेपाली काँग्रेस बुनपाका एक नेता बताउँछन् ।

    केही वडाध्यक्ष र सीमित कर्मचारीको घेरामा रमाउँदै आएकी उपमेयर लामाको वितण्डाका कारण बुनपामा काम गर्ने वातावरण नै नभएको कर्मचारीहरू नै बताउँछन् । उपमेयर लामा आफ्नो स्वार्थ भएकाबाहेक नगरपालिकाभित्रका कुनै पनि कार्यक्रममा सहभागी नहुने गरेको गुनासो पनि नगर कमिटीमा पुगेको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार