Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • नक्कली शरणार्थी प्रकरण : पूर्वमन्त्रीदेखि पूर्वगृहसचिव न्यौपानेसम्म तानिदै

    नक्कली शरणार्थी प्रकरण : पूर्वमन्त्रीदेखि पूर्वगृहसचिव न्यौपानेसम्म तानिदै

    अनलाइन नेपाल
  • मंगलबार, १९ बैशाख २०८०
  • 2.1K
    SHARES

    काठमाडौं । नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगीधन्दामा संलग्न पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का तत्कालिन सल्लाहकार इन्द्रजित राई पक्राउ परेसँगै उनका छोरा निरज राईविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका उडाइने भन्दै करोडौं रुपैयाँ असुलउपर गर्दै आएको गिरोहका मुख्य योजनाकार मानिएका राइ मंगलबार विहान ललितपुरको सुनाकोठीबाट पक्राउ परेका हुन् ।

    नक्कली शरणार्थी बनाएर पैसा असुल्ने गिरोहका नाइकेहरू केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, टंक गुरुङ र सन्देश शर्मा पोखरेल पक्राउ परेपछि तिनले दिएको बयानका आधारमा राईलाई सौखेलस्थित निवासबाटै पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।



    २०७४ फागुनदेखि २०७८ असारसम्म गृहमन्त्री रहेका बादलका सुरक्षा सल्लाहकार राईले भुटानी शरणार्थी समस्या समाधानमा स्थायी तवरको उपाय पहिल्याइने भन्दै गृह मन्त्रालयबाट नीतिगत असंगत निर्णयहरू गराएको र नक्कली शरणार्थी बन्न जनही बढीमा ५० लाखसम्म पैसा असुल्न मार्गप्रसस्त गरिदिएको बयानमा खुलेको छ ।



    पक्राउ परेकामध्ये दुलाल तत्कालीन परराष्ट्रमन्त्री सुजाता कोइरालाका निजी सहायक थिए भने भण्डारी ऊर्जामन्त्री रायमाझीका सहयोगी थिए । पक्राउ परेका दुलाल, भण्डारी, राई, गुरुङ र पोखरेलले बयानमा तत्कालीन गृहमन्त्री बादलका छोरा प्रतिक, इन्द्रजीतका छोरा निरज, एमाले नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी, गृहमन्त्रालयका पूर्वसचिवद्वय महेश्वर न्यौपाने र टेकनारायण पाण्डेको समेत नाम लिएका थिए । तर, प्रहरीले भने अहिले निरजविरुद्ध मात्रै पक्राउपुर्जी जारी गरेको स्रोतले बतायो ।

    उपत्यका अपराध अनुसन्धान कार्यालयले गरेको प्रारम्भिक अनुसन्धानमा पनि गिरोह सञ्चालन र रकम असुलीमा राई, रायमाझी, न्यौपानेलगायतको प्रत्यक्ष संलग्नता रहेको प्रमाण पाइएको स्रोतको दावी छ । पूर्वमन्त्री रायमाझी, पूर्व गृहसचिव न्यौपानेलयागतका हाइ प्रोफाइलहरुविरुद्ध भने प्रहरीले कस्तो कारबाही गर्ला त्यो भने पर्खाइको विषय बनेको छ ।

    प्रहरीका अनुुसार ८ सय ७५ नेपालीलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भनेर दुलाल, भण्डारी र राईको समूहले ठगी गरेको खुलेको छ । उक्त समूहसँग इन्द्रजित राईले ५ करोड रुपैयाँ भन्दा बढी रकम लिएको खुलेको छ ।

    नेपालीलाई भूटानी शरणार्थी बनाई ठगीधन्दामा धेरै भीभीआईपीहरु संलग्न रहेकोले मुद्दा कमजोर बनाउने आशंका गरिएको भन्दै संसदमा समेत प्रश्न उठाइएको थियो । ठगीमा संलग्न हाई प्रोफाइलमध्येमा इन्द्रजित राई पक्राउ परेसँगै अन्यको होसहवास उडेको छ । राई पक्राउ परेपनि उनका छोरा निरज भने नेपाल बाहिर भागेको हुनसक्ने प्रहरीको अनुमान छ ।

    अनुसन्धानका क्रममा प्रहरीले तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार राईसमेत रहेको गिरोहलाई हाल एमाले सचिव रहेका टोपबहादुर रायमाझीले सहयोग गरेको तथ्य फेला पारेको स्रोतले जनायो । अनुसन्धानका क्रममा नक्कली शरणार्थी बनाउने गिरोहका सदस्यले रायमाझीका छोराका नाममा काटेको डेढ करोडको चेक प्रहरीले बरामद गरेको थियो । जुन चेकले रायमाझीले राईलाई सहयोग गरेको पुष्टि हुने प्रहरी नै बताउँछ ।

    त्यसैले राईसँगै रायमाझी, उनका छोरा, पूर्वगृहमन्त्री बादलका छारा र पूर्व गृहसचिव महेश्वर न्यौपाने पनि नक्कली शरणार्थी प्रकरणमा तानिनसक्ने स्रोतको दावी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार