Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • सरुवापत्र बुझिसकेपछि सचिव निरौलाको हर्कतः सहमतिबेगर नै कर्मचारी नेताको सरुवा

    सरुवापत्र बुझिसकेपछि सचिव निरौलाको हर्कतः सहमतिबेगर नै कर्मचारी नेताको सरुवा

    अनलाइन नेपाल
  • बुधबार, १० साउन २०८०
  • 1.9K
    SHARES

    काठमाडौं । गत शुक्रबार र आइतबार प्रमुख सचिवको बिदाइको तयारी गर्न मुख्यमन्त्री कार्यालय बागमती प्रदेशका कर्मचारीलाई भ्याइ नभ्याई थियो । तर, बिदाइको तयारीमा रहेका प्रमुख सचिव मुकुन्द निरौला भने जानेबेलामा पनि सेटिङका कर्मचारीको सरुवा गर्नमा तल्लीन थिए ।

    लामो समयदेखि सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको लेखाअधिकृत पदबाट सरुवा भएर काठमाडौं उपत्यकाका स्थानीय तहमा छिर्न खोजिरहेका थिए एमाले निकट निजामती कर्मचारी संगठनका पूर्वअध्यक्ष केदारप्रसाद देवकोटा ।



    बिदाइको पूर्वसन्ध्यामा प्रमुख सचिव निरौलाले उनको चाहनाअनुसार काठमाडौंको बुढानीलकन्ठ नगरपालिकामा सरुवा गरिदिएका छन् । संघीय सरकारको उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवाको पत्र बुझेर देवकोटाको टिप्पणी उठाउन लगाएका निरौलालाई हिंडने बेलामा गुण लगाउनुपर्ने कुन बाध्यता आइलाग्यो ? त्यो भने बुझ्न कसैले बुझ्न सकेका छैनन् । सरुवा भएका र पत्र बुझिसकेका सचिवले दीर्घकालीन महत्व राख्ने सरुवा किन गर्नुपर्यो, बुझिनसक्नु बिषयका रुपमा लिइएको छ ।



    एमाले निकट लेखाअधिकृत देवकोटालाई बुढानीलकन्ठ वा टोखा नगरपालिकामा सरुवा गर्नका लागि निरौलामाथि लामो समयदेखि दबाब सृजना गरिएको थियो । देवकोटाले एमालेका बरिष्ठ उपाध्यक्ष एवं काठमाडौं ५ नम्बर क्षेत्रबाट पराजीत इश्वर पोखरेलमार्फत् काठमाडौंका बुनपा र टोखा नगरपालिकामा सरुवा गर्न चर्को दबाब दिइरहेका थिए । यी दुई नगरपालिकामा सरुवा हुन खोजेका उनले यसबीचमा भक्तपुरको सूर्यविनायक नगरपालिकामा पनि एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतमार्फत् मेयर बासुदेव थापालाई दबाब दिएका थिए ।

    पोखरेल र बस्नेत मार्फत् उपत्यका छिर्ने देवकोटाको योजनामा बुनपा र टोखाका मेयर क्रमशः मीठाराम अधिकारी र प्रकाश अधिकारी तगारो बने । मेयरले सहमति नदिएपछि बुनपाका उपमेयर अनिता लामामार्फत् उनी सरुवा मिलाउन सफल भएका छन् । प्रमुख सचिव निरौलालाई देवकोटाले आकर्षक आर्थिक लाभ दिएकै कारण संघमा सरुवा भइसकेपछि उनले सदर गरेका थिए ।

    एमाले नेताहरुको राजनीतिक दबाब र देवकोटाको आर्थिक लाभका अगाडि ऐन नियम मिचेर, सरुवा भइसकेपछि पद्धति उल्लंघन गरी निरौलाले देवकोटाको सरुवा गरेको आरोप छ । करिब २ महिनादेखि देवकोटाको हेटौंडामा बाक्लो आउजाउ हुने गरेको थियो । उनले सगौरब बताउने गरेका थिए–मैले प्रमुख सचिव निरौलालाई आफ्नो पक्षमा पारिसकेको हुँदा मेयरहरुले सहमति नदिए पनि सरुवा हुन्छ । गत १५ दिनदेखि डेटलाइन नै तोकेर देवकोटाले यो दिन सरुवा हुन्छ भनेर मिति नै घोषणा गरेका थिए । बलेफी गाउँपालिकामा सामायोजन भएर गएका देवकोटाले सो पालिकामा कामै नगरी ५ बर्ष बिताएका छन् । सिंहदरबार र एमाले नेताहरुको दैलो चाहार्दैमा समय गुजारेका देवकोटाको सरुवा भएपछि भने बलेफी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी खुसी भएका छन् ।

    जनप्रतिनिधि भन्दा आफू नै पावरफुल भएको घमण्ड देखाउने र प्रमुख प्रशासकीय अधिकृतलाई गन्दै नगन्ने स्वभावका देवकोटा बुनपामा आएपछि मेयर, जनप्रतिनिधि र कर्मचारीहरु भने उनको विगतको ब्यवहार भोगेर र सुनेर दिक्क मान्न थालेका छन् ।

    उपमेयरको मनलाग्दी आर्थिक चलखेलमा मेयर बाधक बनेपछि मिठारामसँग टक्कर लिन र नगरको स्रोत दोहन गर्न देवकोटालाई ल्याइएको चर्चा छ । उपमेयर लामाले देवकोटालाई जसरी भए पनि बुनपामा ल्याउनका लागि इश्वर पोखरेलमार्फत् प्रमुख सचिव निरौलालाई दबाब दिएकी थिइन् । आइतबार प्रमुख सचिवबाट बिदाई भएर सोमबार उद्योग मन्त्रालयमा निरौलाले बहाली गरिसकेका छन् भने पत्र बुझ्नेवित्तिकै मंगलबारै बुनपामा हाजिर गरिसकेका छन् ।

    कागेश्वरी मनोहराका लेखाअधिकृत बालकृष्ण दाहाललाई बलेफी गाउँपालिका सिन्धुपाल्चोकमा सरुवा गरिएको छ । बुनपाका लेखाअधिकृत मीनराज खड्कालाई कागेश्वरी मनोहरामा पठाइएको छ । स्थानीय तहका कर्मचारीको सरुवा गर्दा हाजिर हुने कार्यालयको सहमति लिने चलन छ । तर बुनपाको लिखित सहमति विना नै निरौलाले केदार देवकोटाको सरुवा बुनपामा गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार