Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • उत्तर कोरियाको जासूसी भू–उपग्रह प्रक्षेपण प्रयास असफल

    उत्तर कोरियाको जासूसी भू–उपग्रह प्रक्षेपण प्रयास असफल

    अनलाइन नेपाल
  • शुक्रबार, ८ भाद्र २०८०
  • 942
    SHARES

    सियोल । उत्तर कोरियाले जासुसी भू–उपग्रहलाइ बिहीबार अन्तरिक्षको कक्षमा स्थापित गर्ने आफ्नो दोस्रो प्रयास पनि असफल भएको जनाएको छ ।

    पहिलो जासुसी भू–उपग्रह प्रक्षेपणको केही समयपछि समुद्रमा खसेको तीन महिनापछि उत्तर कोरियाले यो दोस्रो प्रक्षेपण गरेको हो ।



    उत्तर कोरियाली नेता किम जोङ उनले आकाशमा सैन्य पहुँच विकासलाई उच्च प्राथमिकता दिएको छ भने आणविक शक्ति सम्पन्न आफ्नो देशले यो अमेरिकी सेनाको बढ्दो क्षेत्रीय गतिविधिको लागि आवश्यक सन्तुलन भएको दाबी गरेका छन् ।



    ‘नेसनल एरोस्पेस डेभलपमेन्ट एडमिनिस्ट्रेसन (नाडा)’ ले बिहीबार ‘टोही उपग्रह मालिगयोङ–१’ को दोस्रो प्रक्षेपण गरेको कोरियाली केन्द्रीय समाचार संस्था (केसीएनए) ले जनाएको छ ।

    “तेस्रो चरणको उडानका क्रममा इमर्जेन्सी ब्लास्टिङ सिस्टममा आएको त्रुटिका कारण प्रक्षेपण असफल भएको नाडाले एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ । “यो समस्या ठूलो विषय होइन र अक्टोबरमा अर्को प्रक्षेपणको प्रयास गर्नेछ,” विज्ञप्तिमा भनिएको छ ।

    दक्षिण कोरियाली सेनाले स्थानीय समयअनुसार बुधबार बिहान ३ः५० बजे उक्त अन्तरिक्ष रकेट प्रक्षेपण भएको थाहा पाएको र यो ‘एलो सी’ माथि उडेको बताएको छ । भग्नावशेषको खोजी र पुनःप्राप्ति अभियान सुरु गरिएको जनाइएको छ ।

    दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा परिषद्ले बिहीबारको प्रक्षेपण र उत्तर कोरियाले गत मे महिनामा गरेको प्रयासको निन्दा गर्दै प्योङयाङले ‘आफ्ना जनतालाई भोकमरी र मृत्युको मुखमा पुर्‍याइरहेको आर्थिक अवस्थाका लागि तल्लो अधिकारीहरूलाई दोष दिँदै लापरबाहीपूर्ण उक्साहटमा दुर्लभ स्रोतसाधनको दुरुपयोग गरिरहेको’ बताएको छ ।

    उत्तर कोरियाले जापानको तटरक्षक बललाई अगस्ट २४ देखि ३१ को बीचमा भू–उपग्रह प्रक्षेपण गरिने जानकारी दिएको थियो, जसका कारण टोकियोले जहाजहरू र पीएसी–३ क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली परिचालन गर्न निर्देशन गरेको थियो ।

    जापान सरकारले सुरुमा यो प्रक्षेपणलाई ‘अत्यन्त समस्याग्रस्त’ भनेको थियो र दक्षिणी ओकिनावा क्षेत्रका बासिन्दाहरूलाई यसबाट सुरक्षित रहन संक्षिप्त चेतावनी जारी गरेको थियो ।

    जापानका प्रधानमन्त्री फुमियो किशिदाले भने, “यस्तो व्यवहार संयुक्त राष्ट्रसङ्घको प्रस्तावविपरीत छ र हामीले पहिलेदेखि नै कडा विरोध गरिरहेका छौँ ।”

    किशिदाले हालै सम्पन्न त्रिपक्षीय क्याम्प डेभिड शिखर सम्मेलनको आलोकमा वासिङ्टन, टोकियो र सियोलले ‘पहिलेभन्दा बढी नजिकबाट समन्वय गर्ने’ बताए ।

    उत्तर कोरियालाई क्षेप्यास्त्र र अन्तरिक्ष रकेट दुवैका लागि प्रयोग गरिने ब्यालेस्टिक प्रविधिको परीक्षणगर्न संयुक्त राष्ट्रसंघका विभिन्न प्रस्तावअनुसार प्रतिबन्ध लगाइएको छ ।

    अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता एड्रिएन वाट्सनले भने, “यो प्रक्षेपणले यस क्षेत्र र बाहिरको सुरक्षा स्थितिलाई अस्थिर पार्ने खतरा छ ।

    वासिङ्टन र सियोलले सोमबारदेखि संयुक्त सैन्य अभ्यास सुरु गरेको केही समयपछि यो प्रक्षेपण भएको हो ।

    ‘उल्ची फ्रिडम शिल्ड’को नामले चिनिने यो वार्षिक अभ्यास अगस्ट ३१ सम्म चल्नेछ । यसले प्योङयाङलाई सधैं चिढ्याउँछ र पहिले नै उत्तर कोरियाली ह्याकरहरूको निशानामा पर्दै आएको छ ।

    प्योङयाङको आणविक निःशस्त्रीकरणबारे छलफल गर्ने असफल प्रयासपछि दुई कोरियाबीचको सम्बन्ध केही वर्षयताकै सबैभन्दा तल्लो बिन्दुमा पुगेको छ ।

    किमले उत्तर कोरियालाई ‘अपरिवर्तनीय’ आणविक शक्ति घोषणा गर्दै सामरिक आणविक हतियारलगायत हतियार उत्पादन बढाउन आह्वान गरेका छन् । सफलतापूर्वक एक जासूस उपग्रह अन्तरिक्षको कक्षमा राख्नु उत्तर कोरियाको लागि सैन्य सूचना संकलनका लागि एउटा महत्वपूर्ण उपलब्धि हुनेछ । रासस/एएफपी

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार