Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • सरुवा रोग अस्पतालको ठेक्का अलपत्रः भवनका डीजी घिमिरेलाई पहिलो गाँसमै ढुंगा

    सरुवा रोग अस्पतालको ठेक्का अलपत्रः भवनका डीजी घिमिरेलाई पहिलो गाँसमै ढुंगा

    अनलाइन नेपाल
  • बुधबार, ७ चैत्र २०८०
  • 945
    SHARES

    काठमाडौं । स्रोतको सुनिश्चितता नहुँदै टेण्डर गरी ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेको शुक्रराज ट्रपिकल एण्ड सरुवा रोग अस्पताल निर्माण नहुने भएको छ ।

    अर्थमन्त्रालयले स्रोत सुनिश्चितता नगरी सहरी विकास तथा भवन निर्माण बिभागले सरुवा रोग अस्पताल निर्माणका लागि बोलपत्रको प्रक्रिया अन्तिम चरणमा पुर्याइसकेको थियो ।



    सेटिङमा ठेक्का लिने र २५ प्रतिशत मार्जिन राखेर त्यस्ता ठेक्का बिक्री गर्दैआएका बिजय मानन्धरले डा. प्रकाशशरण महत अर्थमन्त्री भएको समयमा उनकी पत्नी विनामार्फत् स्रोत सुनिश्चित गर्नेगरी कन्ट्याक्ट र केसी कन्ष्ट्रक्सनलाई उक्त ठेक्का दिने सेटिङ गराएका थिए ।



    तर, महत गएपछि सरुवा रोग अस्पतालको बहुबर्षीय ठेक्काका लागि स्रोत सुनिश्चितता नगर्ने निर्णय अर्थ मन्त्रालयले गरेको छ । सरुवा रोग अस्पतालको ३ अर्बको उक्त ठेक्का सेटिङ बिजय मानन्धरले नै गरेका थिए ।

    स्राेतका अनुसार कन्ट्रयाक्ट कन्स्ट्रक्सन प्रालिका प्रमोद अधिकारी देखाउने पात्र हुन्, ठेक्का सेटिङको काम सबै केसी कन्ष्ट्रक्सनका बिजय मानन्धरले गर्दछन् ।

    सघन सहरी तथा भवन निर्माण आयोजना काठमाडौंले १ भदौ २०८० मा सरुवा रोग अस्पतालको टेण्डर आह्वान गरेको थियो । २२ मंसिर २०८० मा अस्पतालको भवन निर्माणको आर्थिक प्रस्ताव खोलिएको थियो ।

    सरुवा रोग अस्पताल टेकू र नुवाकोटमा निर्माण हुन लागेको कारागार भवनको भवन निर्माणको स्रोत सुनिश्चितता गर्छु भनेर सहसचिव कुमार घिमिरे विभागकाे महानिर्देशक भएका थिए ।

    सहरी विकास मन्त्रालयका बरिष्ठ सहसचिव पदमकुमार मैनाली, नवराज प्याकुरेल, रामचन्द्र दंगालहरु हुँदाहुँदै कनिष्ट घिमिरेलाई महानिर्देशक बनाउँदा ठूलो आर्थिक चलखेलले काम गरेको स्रोत बताउँछ ।

    नेकपा एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डेलाई ‘प्रिपेड’ बुझाएर सरुवा रोग अस्पताल, नुवाकोटको केन्द्रीय कारागार भवन निर्माणको स्रोत सुनिश्चितता गर्ने र त्यसपछि ठूलै आर्थिक स्रोत ब्यवस्थापन गर्नेगरी उनी भवन विभागको डीजी भएकाे स्राेतकाे दावी छ ।

    सरुवा रोग अस्पतालको स्रोत सुनिश्चितता नहुने भएको छ भने नुवाकोटस्थित जेलको पनि अवस्था उस्तै छ । सरुवा रोग अस्पताल, नुवाकोटको केन्द्रीय कारागारसहितका ९ अर्ब रुपैयाँको बजेटका आयोजनाको बहुबर्षीय ठेक्का स्रोत सुनिश्चितता नभएपछि अलपत्र परेका छन् । यससँगै घिमिरेले कबोल गरेको अंक बुझाउन उनलाई गाह्रो पर्ने देखिएको विभाग स्रोत बताउँछ ।

    प्याकुरेललाई पनि सोमप्रसाद पाण्डेले महानिर्देशक बनाउने आश्वासन दिए तर उनले करोडौं बुझाउन नसक्ने देखिएपछि बढी कबोल गर्ने घिमिरेलाई बनाएको स्रोतको दाबी छ ।

    यसैबीच, घिमिरेले डीजी हुनासाथ विभागमा विवादमा पर्ने काम गर्न सुरु गरिसकेका छन् । जागिर अवधि ६ महिना मत्र भएका घिमिरेले सरुवा हुनासाथ विभागमा महानिर्देशकको सवारी चलाउँदैआएका चालकलाई हटाएर सघन सहरी तथा भवन निर्माण आयोजना चितवनको कार्यालय प्रमुख हुँदा सँगै ल्याएका धनबहादुर थापालाई ल्याएका छन् । घिमिरे २०७७ मा संघीय सहरी आयोजना चितवनमा कार्यरत हुँदा थापालाई सवारीचालकमा राखेका थिए ।

    थापासँगै उनकी श्रीमती शर्मिला कटवाललाई पनि घिमिरेले चितवनबाट काठमाडौंमा ल्याएर संघीय सचिवालय निर्माण तथा ब्यवस्थापन कार्यालय सानोगौचरणमा ल्याएका थिए । संघीय सचिवालय निर्माण तथा ब्यवस्थापन कार्यालयको प्रमुख भएपछि घिमिरेले उनीहरु दुवैजनालाई चितवनबाट सरुवा गरी ल्याएका थिए ।

    संघीय सचिवालयमा कार्यालय सहयोगीमा ल्याइएकी कटुवाललाई महानिर्देशक घिमिरेले नै शैक्षिक प्रमाणपत्र कतैबाट ल्याउनू भनेर कम्प्युटर अप्रेटरमा जागिर लगाएका थिए ।

    धनबहादुरलाई सवारी चालकमा लगेका उनले आफू महानिर्देशक भएको एक सातामै शर्मिलालाई पनि विभागकै कम्प्युटर अप्रेटरमा लगिसकेका छन् ।

    संघीय सचिवालयको प्रमुख हुँदा पहिला कार्यालय सहयोगीमा राखेर पछि प्रमाणपत्र ल्याउनू भनेर कम्प्युटर अप्रेटरमा नियुक्ति दिनुभएको हो भन्ने अनलाइन नेपालकाे प्रश्नमा महानिर्देशक घिमिरेले भने–‘यो कुरा कसले भन्यो ? कुनै पनि कुरा सत्य होइन ।’

    विभागमा महानिर्देशक भएपछि त्यहाँ सवारी चलाइरहेकालाई नराखी संघीय सचिवालयबाटै ल्याउनुभएको हो ? भन्ने प्रश्नकाे जवाफमा पनि उनले  माथिकै शैलीमा भने–‘यो कुरा पनि सत्य होइन ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार