Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • पूर्वसभामुख महराको बयान सकियो, हाजिरी जमानीमा छोड्ने सीआईबीको तयारी

    पूर्वसभामुख महराको बयान सकियो, हाजिरी जमानीमा छोड्ने सीआईबीको तयारी

    अनलाइन नेपाल
  • शुक्रबार, ९ चैत्र २०८०
  • 363
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराको बयान सकिएको छ ।

    सुन तस्करी प्रकरणमा जोडिएको आरोपमा पक्राउ परेका महराको बयान प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सकाएका हो ।



    कपिलवस्तुबाट गत सोमबार पक्राउ परेका महराविरुद्ध अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत काठमाडौंबाट चार दिनको म्याद पाएको थियो । उक्त म्याद बिहीबार सकिएको छ ।



    आज शुक्रबार महराको म्याद थप गर्ने वा स्वास्थ्यका कारण हाजिरी जमानी छाड्ने भन्नेबारे टुंगो लाग्ने सीआईबी स्रोतले बतायो । महरा हाजिरी जमानीमा आजै छुट्न सक्ने सम्भावना देखिएको छ ।

    महरालाई अदालतले उनको स्वास्थ्य अवस्था कमजोर रहेको भन्दै अस्पतालमा राख्न निर्देशन दिएको थियो । त्यसै अनुसार उनलाई नर्भिक अस्पतालमा राखिएको छ । प्रहरीले बुधबार र बिहीबार दुई दिन अस्पतालबाटै ल्याएर बयान लिएको छ ।

    अहिले पनि महरा बिरामी नै रहेकाले हाजिरी जमानीमा छाड्नुपर्ने महराका वकिलहरुले तर्क राखेका थिए ।

    पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन तस्करी जाँचबुझ आयोगले मुद्दा चलाउनुपर्ने सिफारिस गरेपछि सीआईबीले महरालाई कपिलवस्तुबाट गत सोमबार पक्राउ गरेर काठमाडौं ल्याएको थियो ।

    जाँचबुझ आयोगले सुन तस्करीमा जोडिएका चिनियाँ नागरिक दावाजिन वाङसँगको फोन सम्पर्क र अन्य परिस्थितिजन्य प्रमाण भेटिएको भन्दै महरामाथि कारबाही गर्न सफारिस गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार