काठमाडौं । मेडिकल व्यबसायी दुर्गा प्रसाईले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) पश्चिमाको गोटी बनेको आरोप लगाएका छन्।
जेनजी आन्दोलनमा बालेन पश्चिमाको गोटी बनेर पर्दा पछाडिबाट खेलेको प्रसाईले आरोप लगाए।
विजय दशमी, तिहार तथा छठ पर्वका अवसरमा शुभकामना सन्देश दिँदै प्रसाईँले आन्दोलन सुरुमा समयसापेक्ष र विचारपूर्ण भए पनि पछिल्लो चरणमा ‘पश्चिमी हस्तक्षेप’का कारण यसको स्वरूप बिग्रिएको बताए।
विशेषगरी सिंहदरबार र सर्वोच्च अदालतजस्ता राणाकालीन सम्पदामा आगजनी हुनु नेपाली जनताको लागि अत्यन्तै दुःखद भएको उल्लेख गर्दै त्यस्तो बेला नगरपालिका जनप्रतिनिधि र कर्मचारीहरू मौन बस्नु दुस्खदायी भएको उनले टिप्पणी गरे।
मेयर साहले विद्यार्थी छात्रवृत्ति, एम्बुलेन्स वितरण र सडक बत्ती जस्ता कामलाई आफ्नो निजी सम्पत्तिबाट काम गरेको जस्तो देखाएको प्रसाईँले आरोप लगाए। राज्यको जिम्मेवारीलाई व्यक्तिगत प्रचारबाजीका लागि प्रयोग गरिएको उनको आरोप छ।
प्रसाईँले सिंहदरबारमा भएको आगजनीलाई ‘इतिहासमा अपराधका रूपमा दर्ज हुने घटना’को संज्ञा दिए ।