वीरगन्ज । वीरगन्जमा गत मंगलबार राति दुई समूहबिचमा भएको हानाहानबाट युवकलाई हत्या गर्ने 'खुनी दरिन्दे ग्याङ' का पाँचजना पक्राउ परेका छन्।
'खुनी दरिन्दे समूह' को नामबाट ह्वाटसअप ग्रुप बनाएका युवाहरूले २० वर्षीय गोल्डेन भन्ने शिवम कुमार साह कानुको हत्या गरेको अनुसन्धानबाट खुलेको पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठकले बताए।
पक्राउ पर्नेमा 'खुनी दरिन्दे ग्याङ' का वीरगन्ज महानगरपालिका-२४ रामगढवाका १९ वर्षीय गौतम पटेल,२० वर्षीय सुभांकर चौरसिया, २२ वर्षीय अमिरी पटेल भन्ने करणप्रसाद पटेल, २४ वर्षीय चन्दन चौरसिया र १९ वर्षीय अमन पटवा रहेका छन्।
दशैं मेलामा अष्टमीको दिन मंगलबार राति वीरगन्ज महानगरपालिका-१० गीतामन्दिर रोडमा युवाहरूको दुई समूहबीच कुटपिट हुँदा बाराको परवानीपुर गाउँपालिका-९ स्थायी घर भई हाल वीरगन्ज-१० मा बस्दै आएका २० वर्षीय गोल्डेन भन्ने शिवम कुमार साह कानुको मृत्यु भएको थियो।
खुनी दरिन्दे समूहको नामबाट ह्बाट्स अप ग्रुप बनाएका युवाहरूको समूहले मृतक गोल्डेनको समूहसँग यसअघि पहिलेपनि भएको झगडाको रिसबी साँध्न गत मंगलरबार राति हात, मुक्का र बाँसको भाटा समेत प्रहार गरेर घाईते बनाएका थिए ।
त्यसपछि गोल्डेनलाई उपचारका लागि नारायणी अस्पतालमा पुर्याएलगत्तै चिकित्सकले मृत घोषित गरेका थिए । घटनापछि प्रहरी निरीक्षक निरोज चौलागाईंको नेतृत्वमा ३२ जनाको टोली परिचालन गरिएको थियो।
घटना भएको २४ घण्टाभित्रै मुख्य आरोपितसहित ५ जनालाई पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक पाठकले बताए।
उनीहरुमध्ये ३ जनालाई घटना भएको राति नै प्रहरीले पक्राउ गरेको हो भने बाँकी दुई जनालाई भने नेपालबाट भागेर भारत बिहार राज्यको पश्चिमी चम्पारण जिल्लाको बल्थर गाउँमा लुकेर बसेको अवस्थामा बुधबार प्रहरीले पक्राउ गरेको हो।
घटनापछि प्रहरी निरीक्षक निरोज चौलागाईंको नेतृत्वमा ३२ जनाको टोली परिचालन गरिएको थियो। प्रहरीले २४ घण्टाभित्रै मुख्य आरोपीसहित पाँच जनालाई नियन्त्रणमा लिन सफल भएको दाबी गरेको छ।
एसपी पाठकले हत्यामा संलग्न अन्य केही व्यक्तिहरूको पहिचान भइसकेको र उनीहरूको खोजी कार्य जारी रहेको जानकारी दिए ।