बागलुङ । बागलुङको ताराखोला गाउँपालिका-३ गाईघाटमा शुक्रबार जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
ताराखोलाबाट गल्कोटको हटियातर्फ जाँदै गरेको ग१ज ६१०० नम्बरको पिकअप जीप गाईघाट झरना नजिकै दरमखोलामा दुर्घटना भएको हो ।
दुर्घटनामा गल्कोट नगरपालिका-५ बस्ने २४ वर्षीय दिनेश थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । गम्भीर घाइते थापालाई गलकोट नगर अस्पताल पुर्याइएपछि चिकित्सकले मृत्त घोषणा गरेका थिए ।
दुर्घटना गलकोट नगरपालिका-५ का ४३ वर्षीय विरबल परियार र २४ वर्षीय मिलन परियार घाइते भएका छन् । गम्भीर घाइते विरबललाई गल्कोट नगर अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि पोखरास्थित मणिपाल अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ।
विरबलको टाउँकोमा चोट लागेको प्रहरीले जनाएको छ। मिलन परियारको अवस्था सामान्य रहेको र गल्कोट नगर अस्पतालमै उपचार पछि डिस्चार्ज भएका छन् ।
दुर्घटनापछि जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जीपमा ८ जना सवारमध्ये पाँच जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।