कपिलवस्तु । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ वनकसवासामा बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ।
धनगढीबाट काठमाडौं जाँदै गरेको ना.८ ख ५७०३ नम्बरको यात्रुबस शनिबार बिहान करिब ६ बजे दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
दुर्घटनामा सवार ३६ जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको र अन्यको मध्यम चोटपटक लागेको प्रहरीले जनाएको छ।
गम्भीर र मध्यम घाइते १५ जनालाई चन्द्रौटास्थित स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि थप उपचारका लागि बुटवल पठाइएको छ।
दुर्घटनामा ज्यान गुमाउने महिलाको परिचय खुल्न बाँकी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका नायब उपरीक्षक रिपेन्द्र सिंहले जानकारी दिए।
प्रहरीका अनुसार दुर्घटना भएको स्थान राजमार्गको सामान्य मोड भएकोले बिहानको समयमा चालक निदाएका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ।