काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापन र उद्धारका लागि सशस्त्र प्रहरी बलले २ हजार ६ सय ६१ जनशक्ति परिचालन गरेको छ ।
शनिवार बिहानदेखि शुरु भएको वर्षाबाट जनधनको सुरक्षा गर्न २६ सय बढी जनशक्ति खटाएको हो ।
सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सशस्त्र प्रहरी बलका नायव उपरीक्षक लक्ष्मण बस्नेतले ३ सय ३२ स्थानमा २ हजार ६ सय ६१ जना सशस्त्र प्रहरी कर्मचारीहरू खटाइएको जानकारी दिए ।
विभिन्न नदी तटीय क्षेत्र, राजमार्ग, समुदायमा गएर माइकिङ गर्ने सचेतनाका लागिदेखि उद्धारका सामग्रीसहित परिचालन भइरहेको उनले जानकारी दिए।
हालसम्म कुनैपनि गम्भीर किसिमको घटनाको सूचना प्राप्त नरहेको बस्नेतले बताए। ५० मिटर जति नदीले सडक कटान गरेको ठाउँमा बाँसहरू लगाएर बोराहरू हाल्ने काम भएको बताए। १ सय २९ वटा र्याफ्टिङहरू कोशी, गण्डकी, वागमती प्रदेशहरूमा, मधेस प्रदेशमा परिचालन गरिएको पनि बताए।
बस्नेतले भने- 'आजको दिनमा २ हजार ६ सय ६१ जना सशस्त्र प्रहरी कर्मचारीहरूलाई ३ सय ३२ स्थानमा खटाइएको छ । विभिन्न नदी तटीय क्षेत्र, राजमार्ग, समुदायमा गएर माइकिङ गर्ने सचेतनाका लागिदेखि उद्धारका सामग्रीसहित परिचालन भइरहेको छ । गम्भीर किसिमको घटनाको सूचना प्राप्त भइसकेको छैन । केही ठाउँहरूमा पहिरो गएर बाटो अवरुद्ध भएको छ । ५० मिटर जति नदीले सडक कटान गरेको ठाउँमा बाँसहरू लगाएर बोराहरू हाल्ने काम भएको छ । १ सय २९ वटा र्याफ्टिङहरू कोशी, गण्डकी, वागमती प्रदेशहरूमा, मधेस प्रदेशमा परिचालन भएको छ । एम्बुलेन्सहरू सबै स्ट्याण्डबाइ छ, उद्धार टोलीहरू तैनाथ छन् । ६७ जिल्लाका विभिन्न स्थानहरूमा माइकिङ गरेर सचेत रहनका लागि अनुरोध गरिरहेको अवस्था छ । सामाजिक सञ्जालमार्फत मनसुन सचेतनाका लागि सामग्रीहरू पठाउँदै आएको छ ।'
उद्धार टोली र एम्बुलेन्सहरू सबै स्ट्याण्डबाइ राखिएको र ६७ जिल्लाका विभिन्न स्थानहरूमा माइकिङ गरेर सचेत रहनका लागि अनुरोध गरिरहेको जानकारी दिए।
यस्तै आज साँझ ८ देखि आइतबार बिहान ८ बजेसम्म मुलुकका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले पनि आग्रह गरेको छ ।