काठमाडौं । सशस्त्र प्रहरी बलमा ६ एसएसपीको डीआइजीमा र सात एसपीको एसएसपीमा बढुवा सिफारिस भएको एक महिना नाघिसकेको छ । उनीहरुको बैशाख ११ गते बढुवा सिफारिस भएको थियो।
उनीहरुले फूली लगाएको पनि तीन साता भइसकेको छ। तर, जिम्मेवारी भने अझै पाएका छैनन्।
डीआइजी र एसएसपीको सरुवा तथा पदस्थापन गृहमन्त्रीस्तरबाट हुने सशस्त्र प्रहरीको नियमावलीमा उल्लेख छ। हाल गृह मन्त्रालयको जिम्मेवारीमा प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ आफैं छन्।
कुनै पनि फाइल रोकिन नहुने भनेर ‘शुन्य बाँकी फाइल सप्ताह’ अभियान चलाउने निर्णय गरेका बालेनले महिना दिनसम्म पनि नियमित पदस्थापनको काम गर्न सकेका छैनन् ।
बढुवा भएका डीआइजीहरू दिगविजय सुवेदी, किरण बस्नेत, माधवप्रसाद पौडेल, प्रविण कँडेल, राजेश उप्रेती र नेत्रबहादुर कार्की तथा एसएसपी भएका दीपक कुमार थापा, सुधीर सुवेदी, महेश केसी, प्रकाश सुवेदी, चित्रांगत दहाल, सुभाष भण्डारी र प्रदिपसिंह कार्कीले अझै जिम्मेवारी पाएका छैनन्।
केही डीआइजीको सरुवा समेत हुने भएकाले पनि पदस्थापन लम्बिएको स्रोत बताउँछ। मधेससहित, लुम्बिनी, गण्डकी, उपत्यका बाहिनीको डीआइजीको सरुवाको समय भएको छ।
बागमतीका डीआइजी अञ्जनी पोखरेल एआइजीमा बढुवा सिफारिस भइसकेका छन्। आगामी मन्त्रिपरिषद्को बैठकले उनको बढुवा र पदस्थापन गर्नेछ। त्यसपछि डीआइजीको सरुवा हुने सम्भावना छ। गत साता बढुवा सिफारिस भएका राजेन्द्र खड्काको पनि बढुवा र पदस्थापन हुनै बाँकी छ।
आईजीपी नारायण दत्त पौडेलको कमान्ड कमजोर भएकाले पनि यसरी नियमित सरुवा तथा पदस्थापनमा ढिलाई भएको चर्चा सशस्त्र प्रहरीमा छ ।