विराटनगर । कोसी प्रदेश सरकारले बाढीपहिरोमा परेर मृत्यु भएकाका परिवारलाई जनही एक लाख रुपैयाँ प्रारम्भिक राहत उपलब्ध गराउने भएको छ । प्रदेशको इलाममा पहिरोमा परी सबैभन्दा धेरै ३७ जनाको मृत्यु भएको छ ।
कोसी सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले प्रारम्भिक राहतस्वरूप एक लाख रुपैयाँ उपलब्ध गराइने र घर निर्माण तथा मर्मतका निम्ति थप सहयोग गरिने बताए ।
प्रदेश सरकारले संघीय सरकार र सुरक्षा निकायसँग समन्वय गरिरहेको उनको भनाई छ ।
मन्त्री भण्डारीले विपद्बाट परेको प्रभावका विषयमा प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी प्रदेश सरकारले राहत, उद्धार र अरू सहयोगका निम्ति समन्वय गरिरहेको बताए ।