काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी निरीक्षक हरिचन्द्र ढकालसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको कोटहीमाई गाउँपालिका-५ मझगाँवास्थित सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बीओपी) मा कार्यरत निरीक्षक हरिचन्द्र ढकाल र जवान यामबहादुर खत्री विरुद्ध शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
सीमा पारी भारतबाट दुर्गौलिया नाका हुँदै नेपाल आउने क्रममा सर्वसाधारणसँग ‘सामान पास गर्न सहजीकरण गरिदिने’ भन्दै १५ हजार रुपैयाँ लिएको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।
रुपन्देहीको कोटहीमाई गाउँपालिका-५ स्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट मझगाँवामा कार्यरत सशस्त्र प्रहरी जवान यामबहादुर खत्रीले भारतबाट भन्सार छली अवैध रुपमा कपडा तथा किराना सामान ल्याउने कार्यमा सहजीकरण गरिदिने भन्दै घुस लिएको आरोप छ ।
दुबैले आपसी मिलोमतो घुस लिने गरेको खुलेपछि दुवै जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।