काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा गठन भएको अन्तरिम सरकारप्रति असन्तुष्टि जनाएका छन् ।
आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले उक्त सरकार जेनजी आन्दोलनको भावना र मर्मअनुकूल नभएको टिप्पणी गरे।
विप्लवले उक्त सरकार ‘रहस्यमय ढंगले गठन भएको’ भन्दै यसले देशलाई थप संकटतर्फ धकेलेको आरोप लगाए।
'जेनजीको विद्रोह आफ्नो राजनीतिक उद्देश्य हासिल गर्न असफल भएको छ,' उनले भने, 'आन्दोलनको बलमा संसद् विघटन र अन्तरिम सरकार गठनसम्मको अवस्था आए पनि जनताले गरेको बलिदान र लाखौँको सहभागिताको मर्म पूरा हुन सकेको छैन।'
महासचिव विप्लवले कार्की नेतृत्वको सरकार गठन प्रक्रिया नै अस्पष्ट र अविश्वसनीय रहेको दाबी गरे।
'यो अन्तरिम सरकार बनाउँदा नै रहस्यमय ढंग अपनाइएको छ। सरकारमा बसेका दलहरूबीच नै मतभिन्नता र फाटो छ। कोही पनि यो सरकारको जिम्मेवारी लिन तयार छैनन्,' उनले भने।