काठमाडौं । मन्त्रिपरिषद्ले पछिल्लो पटक गरेको निर्णयहरू सार्वजनिक गरिएको छ ।
बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक बसेको थियो । उक्त बैठकका निर्णय सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयमा बिहीबार एक पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो ।
बिहीवार बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकारले संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सेवा सुविधा घटाएको जनाकारी दिए ।
यस्तै उनले मंसिर ८ देखि ११ गतेसम्म मोरक्कोमा हुने ९३ औँ इन्टरपोल महासभामा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीलाई स्वीकृति दिने निर्णय भएको बताए।
बुधवारको मन्त्रिपरिषद् बैठकले गरेका अरू निर्णयहरूः
- २०८२ मंसिर ६ देखि १३ गतेसम्म पेरूमा आयोजना हुने इन्टरनेसनल ट्रिटी अन प्लान्ट जेनेटिक रिसोर्स फर फूड एण्ड एग्रिकल्चरको ओभर्निङ बडीको ११औँ अधिवेशनमा सहभागी हुन डा. गोविन्दप्रसाद शर्मालाई स्वीकृति दिने ।
- राष्ट्रिय सभा सदस्यको रिक्त पद पूर्तिका लागि २०८२ माघ ११ गते आइतबार निर्वाचनको मिति तोक्ने ।
- देहायका सेवाहरूलाई प्रचलित कानूनले तोकेको सुरक्षा मापदण्ड पूरा गरेको भनी विद्युतीय प्रणालीमार्फत राष्ट्रिय परिचय व्यवस्थापन प्रणालीमा रहेको तथ्याङ्कमा पहुँच उपलब्ध गराउन सक्ने गरी सेवा तोक्ने -
वैदेशिक रोजगार सम्बन्धी‚
अदालतका मुद्दा व्यवस्थापन सम्बन्धी‚
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमति सेवासम्बन्धी‚
स्थानीय तहको पञ्जीकरण, नागरिकता, सामाजिक सुरक्षा, राहत तथा विपद् व्यवस्थापन सम्बन्धी‚
अध्यागमन सेवासम्बन्धी‚
बन्दीको पहिचान, प्रमाणीकरण तथा बन्दीहरूका विवरण सम्बन्धी‚
-समरजंग कम्पनी कार्यालयलाई गृह मन्त्रालयअन्तर्गत रहने गरी संगठन तथा व्यवस्थापन संरचना गर्न पूर्ण स्वीकृति दिने।
- बेल्जियमको ब्रसेल्समा आयोजना हुने नेपाल–युरोपेली संघबीचको संयुक्त आयोगको सोह्रौँ बैठकमा सहभागी हुन परराष्ट्र मन्त्रालयका सचिवको नेतृत्वमा प्रतिनिधिमण्डललाई स्वीकृति दिने।
- कतारको दोहामा आयोजना हुने सेकेन्ड वर्ल्ड समिट फर सोसियल डेभलपमेन्ट कार्यक्रममा २०८२ कात्तिक १७ देखि २० गतेसम्म सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गर्ने।
- नेपाली सेनाका एकजना प्रमुख सेनानीलाई महासेनानीमा र एकजना सहायक रथीलाई उपरथीमा बढुवा गर्ने।
- २०८२ मंसिर १ देखि ३ गतेसम्म थाइल्यान्डको बैंककमा आयोजना हुने छैटौँ सेसन अफ द टोकियो कन्भेन्सन कमिटी÷नवौँ सेसन अफ द बैंकक कन्भेन्सन कमिटी कार्यक्रममा सहभागी हुन सचिव (शिक्षा) चूडामणि पौडेललाई स्वीकृति दिने।
- छापाखाना र प्रकाशन सम्बन्धी (दोस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गर्ने।